खोटाङ, ८ चैत । खोटाङको साकेला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पुनः गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालयले जारी गरेको कार्यतालिका अनुसर चैत–५ गते नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको क्याम्पसमा चैत–१० गते छलफल गरेर पुनः निर्वाचन गर्ने सहमति भएको हो ।
साकेला गाउँपालिका–२ रतन्छामा सञ्चालित साकेला बहुमुखी क्याम्पसमा अन्य विद्यार्थी सङ्गठनबाट कसैको पनि उम्मेदवारी नपरेकाले अनेरास्ववियुका यामबहादुर खड्का सभापति रहेको अनेरास्ववियुका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको क्याम्पस प्रशासनले चैत–५ गते विज्ञप्तिमार्फत जानकारी दिएको थियो । क्याम्पस प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार सचिवमा रमिता फुयाल, कोषाध्यक्षमा सरला राई तथा तीनजना सदस्यमा क्रमशः रीता खड्का, कविता दुलाल र उमा विष्ट निर्वाचित भएका थिए ।
स्ववियु निर्वाचन सम्बन्धी सबै प्रक्रिया पूरा गरेर अन्तिम नतिजा सार्वजनिक गरिए पनि अन्य राजनीनिक दलका विद्यार्थी सङ्गठनले प्रश्न उठाएपछि पुनः निर्वाचन गर्नेगरी सहमति गरिएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तीकारी), समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियूले सोही दिन संयुक्त विज्ञप्ति जारी गर्दै जालझेल र कपटपूर्ण नियतले परिणाम घोषणा गरिएको भन्दै स्वीकार्य नहुने जनाएको थियो ।
स्ववियु निर्वाचन परिणामकै बारेमा स्ववियु निर्वाचन अधिकृत तामाङको संयोजकत्वमा असन्तुष्ट विद्यार्थी सङ्गठनसहित चैत–६ गते बसेको बसेको बैठकले निर्वाचन प्रकृयामा प्राविधिक समस्या भएका कारण पुनः चैत–१० गते छलफल गरी स्ववियु निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा प्रधानाध्यापक शिवेन्द्रकुमार राई, नेपाली काँग्रेस जिल्ला सदस्य किसन भुजेल, सिजन राई, नेवि सङ्घका मोतिचन्द्र राई, सुमन आचार्य, अखिल (क्रान्तीकारी)का डार्विन राई र ज्ञानेन्द्र राई, अनेरास्ववियूका अनिता राई लगायतको उपस्थिति रहेको थियो ।
यद्यपि, सो बैठकमा अनेरास्ववियु खोटाङले आफ्नो प्रतिनिधिको उपस्थिति नरहेको जनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन तालिका अनुसार अन्य विद्यार्थी सङ्गठन दर्ता हुनसमेत नआएको निर्वाचन समितिले जनाएको छ ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल, रावा क्याम्पस खार्पा, सिम्पानी क्याम्पस सिम्पानी, खोटाङ क्याम्पस खोटाङबजार, चिसापानी क्याम्पस चिसापानी र हलेसी क्याम्पस हलेसी सञ्चालनमा रहेका छन् । जिल्लाको सात क्याम्पसमध्ये साकेला बहुमुखी क्याम्पस बाहेक अन्यमा अहिलेसम्म स्ववियु निर्वाचनको प्रक्रिया नै थालिएको छैन ।
जिल्लाका सबै क्याम्पसहरुमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले आफ्नो सङ्गठन दर्ता गराएको छ । दिक्तेल बहुमुखी क्याम्पसमा भने, दुई स्वतन्त्र समूह प्रतिभाशाली स्वतन्त्र विद्यार्थी समूह र स्वतन्त्र विद्यार्थी नवीन पाइला समूहले पनि चुनावमा भाग लिन समूह दर्ता गराएका छन् ।