साप्सुखोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनीको लापरबाही : तत्काल सुधार गर्न प्रजिअको निर्देशन

Halesi Khabar
0 Shares

खोटाङ, १० चैत । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री-स्टार हाइड्रोपावरले जलविद्युत आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध शुरु गरेका छन् ।

कम्तिमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताउनुभयो । “आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यस अनुसार पानी छाड्नुपर्छ”, उहाँले भन्नुभयो, “आईईई गर्दाखेरी खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ । तर, साप्सुखोलामा त्यस्तो देखिन । यसले पर्यावरणमा असर पुगेको छ ।”

वि.सं. २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन शुरू गरिएको ६.६ मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवद्र्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।

राजापानीको बेलडाँडास्थित विद्युत गृहबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब-स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दश स्थानीय तह रहेको जिल्लाबाट यो (साप्सुखोला जलविद्युत आयोजना)सँगै तीनवटा जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन् ।

साप्सुखोला जलविद्युत आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताएका छन् ।

स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुग्नुभएका प्रजिअ सेढाईले प्रवद्र्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई फोन गरेर तत्काल सम्झौता अनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिएको जानकारी दिनुभयो । “ड्यामभन्दा मुनि खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ । आयोजनास्थलबाटै फोन गरेर सम्झौता अनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “प्रवद्र्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिकरुपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ ।”

कम्पनीका आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूणर्ता दिने प्रतिबद्धता जनाउनुभएको छ । “ड्याम वरिपरी घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ । विविध कारण ढिलो भएको छ”, उहाँले भन्नुभयो, “सिडियो सा’बसँग पनि कुरा भएको छ । अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौँ ।”

करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर विद्युत उत्पादन गरिएको हो ।

तपाईको प्रतिक्रिया