खोटाङ, १५ चैत । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत नोभेम्बर–३ तारिख (कातिक–१७ गते) मलेसिया पुगेका पाँच युवा नेपालस्थित मेन पावर कम्पनीका एजेन्ट (अरुको प्रतिनिधिका रुपमा काम गर्ने व्यक्ति)को लापरबाहीका कारण अलपत्र परेका हुन् ।
मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् । मलेसियाको जलन सिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा अलपत्र रहेका उनीहरुले अहिले उद्धारका लागि विभिन्न सञ्चारमाध्यम समक्ष हारगुहार गरिरहेका छन् ।
मासिक मलेसियन रिङ्गेट एक हजार ५०० (नेपाली रु ४५ हजार)मा श्रम सम्झौता गरेर पाँच महिनाअघि मलेसिया पुगेका उनीहरुले प्रतिव्यक्ति रु दुई लाख ६० हजारसम्म धरौटी बुझाएका छन् । मेना कलेक्सन एस.डि.एन.बि.एच.डि. कम्पनीमा क्लिनर (सरसफाइ गर्ने कामदार)का रुपमा मलेसिया पुगेका उनीहरुले हालसम्म खाना तथा खाजा खर्चबापत १५० रिङ्गेट मात्र पाएको बताएका छन् ।
काठमाडौँको गौशलास्थित उत्सव मेन पावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरुले फ्रि भिषा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको । सोमले निरज दाहाललाई रु दुई लाख ६० हजार, सुजनले ध्रुब दङ्गाललाई रु दुई लाख ४० हजार, सुमन र प्रकाशले हेम अधिकारीलाई जनही रु दुई लाख ६० हजार तथा सोनामले भवानी तिम्सिनालाई रु दुई लाख ५० हजार धरौटी रकम बुझाएको उनीहरुले बताएका छन् ।
दैनिक आठ घण्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले भिडियो कलमार्फत बताउनुभयो । “यहाँ ल्याएर छाडेपछि शुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्”, उहाँले भन्नुभयो, “नेपालस्थित मेन पावर कम्पनीका मान्छेलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्कीसमेत दिन थालेका छन् । हामीले तुरुन्त नेपाल फर्काउ भन्दा तिमीहरुलाई के पुगेन भन्दै धम्क्याउँछन् । काम गर्न आएको हामीलाई बन्दी बनाएर राखेका छन् । अब हामी यहाँ बस्दैनौँ । जसरी भए पनि नेपाल फर्काउन तपाईहरुले सहयोग गर्नुप¥यो । नेपाल फर्किएपछि पाँच महिनाको तलब र धरौटीबापत हामीले बुझाएको रकमको साँवा÷ब्याज मेन पावर कम्पनीले दिनुपर्छ । यसरी मान्छेको जीवनमा खेलबाड गर्नु पाइँदैन ।”
मलेसिया पुगेको तीन महिनाअघि नेपालस्थित उत्सव मेन पावर कम्पनीका निर्देशक भीष्म श्रेष्ठ आएर दुई महिनाको तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेर फर्किए पनि पूरा नगरेको उनीहरुले बताएका छन् । दिनरात एउटा कोठामा थुनिएर बसेका उनीहरुले निर्देशक श्रेष्ठले भेटेको भोलिपल्टबाटै काममा लगाउने बताए पनि हालसम्म काम र दाम दुवै नदिएको बताएका छन् ।
सोमका एजेन्ट बनेर पैसा बुझेका दाहालले भने आफू उक्त मेन पावर कम्पनीको एजेन्ट नभइ गाउँले भएकाले उसैको भलाइका लागि सहयोग गरेको बताउनुभएको छ । “सोम आफ्नै गाउँले भाइ भएकाले उसैको भलाइका लागि उसलाई मैले चिनेको साथीको मेन पावर कम्पनीमा पु¥याएर सहयोग गरेको थिएँ । कम्पनी राम्रो परेन रहेछ !”, उहाँले भन्नुभयो, “मेरो सहयोगमा मलेसिया पुगेका उनलाई सहयोग गर्न खोजिरहेको छु । उसले आफूसँग रहेका सबै (पाँचजना)को जिम्मेवारी लिनुपर्छ भन्छ । नचिनेको मान्छे सबैको जिम्मेवारी लिन म सक्दिन ।”
निर्देशक श्रेष्ठले भने, उनीहरुले सम्झौता अवधिभर काम नपाए पनि सेल्लरी (तलब) दिलाउने काम आफ्नो भएको बताउनुभएको छ । “उनीहरुलाई काममा लगाउदा काम गर्न जाँदैन । कम्पनीले एप्सेन्ट (अनुपस्थित)मा राखिदिन्छ । पटक–पटक काममा लगाइएको छ । तर, उनीहरु दादागिरी गरेर बसिरहेका छन्”, उहाँले भन्नुभयो, “दुई वर्षसम्म काम नपाए पनि मासिक मलेसियन रिङ्गेट एक हजार ५०० (नेपाली रु ४५ हजार) उपलब्ध गराउने काम मेरो हो । उनीहरुका परिवारको खाता नं. मागेको छु । सम्भवत भोलि सबैको खातामा पाँच महिनाको सेल्लरी जम्मा हुन्छ ।”
उनीहरुले बाहिर भनेजस्तो खान÷बस्न समस्या नरहेको र पुनः अप्रिल १ तारिख (चैत–१८ गते)बाट काममा पठाउने कम्पनीसँग कुरा भएको निर्देशक श्रेष्ठले बताउनुभएको छ । उनीहरु भने, जुनसुकै हालतमा भए पनि नेपाल फर्कने बताइरहेका छन् ।