मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माणको काम शुरु

Halesi Khabar
0 Shares

खोटाङ, १५ चैत । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह (धर्मशाला) निर्माणको काम शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने मन्दिर परिसरमा २० कोठा र एउटा हल हुने चारतले भजनगृह (धर्मशाला) निर्माणको काम शुरु गरिएको हो ।

वि.सं. २०७४ चैत–१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको रु ६० लाखमध्ये खर्च गरेर बाँकी रहेको रु ४२ लाख बैङ्कमा जम्मा गरेको र सोको ब्याजसहित रु ५६ लाखको लागतमा भजनगृह (धर्मशाला) निर्माणको शुरु गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । भजनगृह (धर्मशाला) बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलान्यास गर्नुभएको छ ।

भजनगृह (धर्मशाला)का लागि अपुग बजेट नगरपालिका, प्रदेश र संघीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताउनुभयो । नियमित भजनकिर्तनको व्यवस्था एवम् कालिका भगवती देविस्थान एवम् मझुवागढीका ऐतिहासिक र पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामस्थलको व्यवस्थाका लागि भजनगृह (धर्मशाला) निर्माण सुरु गरिएको हो ।

मझुवागढीमा वात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ । मझुवागढीमा पानीको व्यवस्थाका लागि शहरी विकास मन्त्रालयबाट २०७२ सालमा बिनियोजित रु एक करोड ४४ लाखमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पुरा हुने समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको मझुवागढी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

तपाईको प्रतिक्रिया