खोटाङ, १६ चैत । रामनवमीको अवसर पारेर खोटाङको त्रिधार्मिकस्थल हलेसीमा बृहत मेला लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ ।
हप्ता दिनअघिदेखि शुरु भएको रामनवमी मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजनहरु हलेसी आएका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याउने गरेका कारण पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैले सवारीसाधन लिएर हलेसी आउने गरेका छन् । हलेसीमा लाग्ने १५ दिने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभएको छ ।
प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धार जस्ता विभिन्न द्धारहरू अवस्थित रहेका छन् ।
प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करीब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।
त्रिधार्मिकस्ल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीको अवसर पारेर हलेसीमा लाग्ने १५ दिने मेलामा करोडौँको आर्थिक कारोबारसमेत हुने गरेको छ ।
पछिल्लो समय त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेर जडान गरिएको हो ।
दैनिक सैयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने हलेसी मन्दिर परिसरमा सौर्यबत्तीसमेत जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रम अन्तरगत १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको रु दश लाख लागतमा हलेसी मन्दिर परिसरका विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।
मन्दिर परिसरमा सौर्यबत्ती नहुँदा साँझ तथा बिहान मन्दिर दर्शन गर्न जाने तीर्थालु भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरिएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठवटा ब्याट्रीमार्फत एक केभीए विद्युत उत्पादन गरिएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक पोलपोलमा विद्युत पु¥याएर सेन्सर (अध्याँरोमा आफै बल्ने उज्यालोमा आफै बन्द हुने) सौर्यबत्ती जडान गरिएको हो ।”
यसैबीच, रामनवमीको अवसर पारेर आज जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरु बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ लगायत ठाउँहरुमा समेत ठूलो मेला लागेको छ । त्रिधार्मिकस्थल हलेसी बाहेक अन्य ठाउँमा आज एक दिनमात्र मेला लाग्ने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
पछिल्लो समय रामनवमीको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलहरुमा घुम्न तथा वनभोज खान जाने आन्तरिक पर्यटकको सङ्ख्यासमेत उत्तिकैमात्रामा वृद्धि हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङस्थित पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आज आन्तरिक पर्यटकको भीड लागेको थानीय बासिन्दाहरुले बताएका छन् ।