खोटाङ उद्योग बाणिज्य संघको नेतृत्व चयनका लागि मतदान जारी

Halesi Khabar
0 Shares

खोटाङ, १६ चैत । खोटाङ उद्योग बाणिज्य संघको नेतृत्व चयनका लागि मतदान जारी छ । बाणिज्य संघको नेतृत्व चयनका लागि बाणिज्य संघकै कार्यालयमा बिहिबार बिहान ७ बजेदेखि मतदान सुरु गरिएको हो । मतदान अपरान्ह चार बजेसम्म जारी रहने छ । राजनैतिक भागबण्डाका आधारमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रकोतर्फबाट कांग्रेसनिकट समुन्द्रप्रसाद जोशी र नेकपा एसका नेता राजनप्रसाद आचार्य अध्यक्ष बन्ने चुनावी मैदानमा छन् ।
जोशीको प्यानलबाट महासचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा युधिर शाक्य, सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ (मणि), टंकप्रसाद आचार्य, तुलाराम बिश्वकर्मा (विक्रम), रोशन शैंजू, विपिन श्रेष्ठ र हिरालाल पुरी चुनावी मैदानमा छन् । यस्तै, आचार्यको प्यानलबाट महासचिवमा अजय बस्नेत, कोषाध्यक्षमा नेत्रबहादुर कट्वाल, सदस्यमा किसनकुमार राई, कुमार बजिमय, कैलाश भट्टराई, डोरनारायण हिङमाङ, विपिन श्रेष्ठ र ज्ञानबहादुर राई उम्मेदवार छन् । जोशीलाई तीन दलमा आस्था राख्ने साझा उम्मेदवारका रुपमा उभ्याइँदा आचार्यलाई अन्य दलसँग असन्तुष्ट टिमको प्रतिनिधिका रुपमा अघि सारिएको जनाइएको छ । मतदानमा ६७१ मतदाताले मत हाल्ने निर्वाचन समिति संयोजक ध्रुव कार्कीले बताए ।
१७ जनामध्ये सात जना निर्विरोध
बाणिज्य संघको पदाधिकारी सहित १७ जनामध्ये सात जना निर्विरोध निर्वाचित भइसकेका छन् । बरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, महिला सदस्य रेनुका पोखरेल र विमला राई निर्विरोध भएका हुन् ।

तपाईको प्रतिक्रिया