खोटाङ, १७ चैत । खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्षमा ठूला तीन राजनीतिक दलका साझा उम्मेदवारलाई भारी मतले हराउँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार राजनप्रसाद आचार्य विजयी हुनुभएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार काँग्रेसका समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य अध्यक्षमा भारी मतले विजयी हुनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सचिवसमेत रहनुभएका आचार्यले ३३४ मत प्राप्त गरेर विजयी हुँदा जोशीले १३८ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीले जानकारी दिनुभयो । कुल ६७१ मतदाता रहेको उद्योग वाणिज्य सङ्घको बिहीबार सम्पन्न निर्वाचनमा ४८० मत खसेको जनाइएको छ ।
महासचिवमा स्वतन्त्र उम्मेदवार भनिएका काँग्रेसका अजय बस्नेत भारी मतान्तरले विजयी हुनुभएको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार माओवादी केन्द्रका सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै बस्नेत विजयी हुनुभएको हो ।
महासचिवमा विजयी बस्नेतले ३४१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी श्रेष्ठले १२३ मतमात्र प्राप्त गर्नुभएको छ । महासचिव पदका लागि खसेको ४८० मतमध्ये १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कोषाध्यक्षमा काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार काँग्रेसका युधिर शाक्य विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवार भनिएका नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश समिति सदस्य नेत्रबहादुर कटवाललाई ६४ मतले पछि पार्दै गठबन्धनका तर्फबाट काँग्रेसका शाक्य विजयी हुनुभएको हो ।
कोषाध्यक्षमा विजयी शाक्यले २६० मत प्राप्त गरेर विजयी हुँदा कटवाल १९६ मतमात्र प्राप्त गर्नुभएको जनाइएको छ । अध्यक्षमा पराजित जोशीको प्यानल (समूह)बाट सदस्यमा कुमार बजिमय ३७१, कृष्णकुमार श्रेष्ठ ‘मणि’ २७८, टंकप्रसाद आचार्य ३०३, रोशन सैंजु ३१३, बिपिन श्रेष्ठ २७७ र हिरालाल पुरी २७२ मत ल्याएर सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष आचार्यको प्यानल (समूह)बाट एकजना कैलाश भट्टराईले मात्र २५२ मत ल्याएर विजयी हुनुभएको जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव आचार्यको प्यानेललाई स्वतन्त्र भनिए पनि तीन दलीय गठबन्धनमा रहेका एमालेका नेताहरुले खुलेआम भोट मागेका थिए ।
वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई ‘माया’, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन हुनुभएको थियो । गत फागुन–१४ गते उद्घाटन भएको उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशनमा राजनीतिक भागबण्डाको आधारमा सबै कार्यसमिति चयन गर्ने कसरत भए पनि अन्तिम समयमा असफल भएको थियो ।
उद्योग वाणिज्य सङ्घ खोटाङमा १७ जना निर्वाचित, दुईजना मनोनित र निवर्तमान अध्यक्षसहित २० जनाको कार्यसमिति हुने प्रावधान रहेको छ । उद्योग वाणिज्य सङ्घको ११ औँ जिल्ला अधिवेशनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र खुला सात सदस्यमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।