खोटाङ, २० चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा जेब्रा क्रस (पैदल यात्रु आवतजावत गर्ने ठाउँ) तथा स्पिड ब्रेकर (तीव्र गति नियन्त्रण गर्ने ठाउँ) निर्माणको काम शुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा जेब्रा क्रस तथा स्पिड ब्रेकर निर्माणको काम शुरु गरिएको हो ।
दिक्तेल बजारस्थित किराँत चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको शुरुवात गरिएको छ । नगरपालिकाको रु नौँ लाख ९३ हजार ८०७ मा सम्पन्न हुने जेब्रा क्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्म नगर प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्तरुपमा जेब्रा क्रसको रेखा कोरेर गर्नुभएको हो ।
आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी नगरपालिकाबाट स्वीकृत भएको ‘होम्स तथा सडक मर्मत कार्यक्रम’ अन्तरगत दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा दश ठाउँमा जेब्रा क्रस निर्माण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सजिव निर्माण सेवा कम्पनी खोटाङले कोटेशनमार्फत जिम्मा लिएको कार्यक्रम अन्तरगत अल्छेढुङ्गा–अस्पताल चोक सडकखण्डमा कजवेसमेत निर्माण गर्नुपर्ने जनाइएको छ ।
सम्झौता अनुसार विभिन्न दश ठाउँमा स्पिड ब्रेकरको कामसमेत शुरु गरिएको कम्पनीका प्रतिनिधि श्यामकुमार पौडेलले जानकारी दिनुभयो । “जेब्रा क्रसको काम दुई÷तीन दिनभित्रै सम्पन्न गर्छौँ । स्पिड ब्रेकरको लागि दश ठाउँमा फलामे डण्डी बिच्छ्याउने काम सम्पन्न गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा एकातर्फको सम्पन्न गरेर पुनः अर्कोतर्फ निर्माण गर्ने योजना बनाएका छौँ । तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौँ ।”
ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्रा क्रस नहुँदा यसअघि पटक–पटक दुर्घटना हुँदै आएको छ । सवारी सञ्चालन गर्दा तीव्र गतिका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्रा क्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवम् प्राविधिक सहयोग गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
गत जेठ–२० गते मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधनसमेत भएको थियो । दिक्तेल बजारस्थित आफ्नै घर नजिक रहेको सपिङ कम्प्लेक्स अगाडि प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका ५६ वर्षीय नेता श्रेष्ठ उपचारको क्रममा निधन भएको हो ।