खोटाङ/ खोटाङमा एसईई परीक्षामा अर्कैको नामबाट परीक्षा दिने एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्।
एसईई परीक्षाको तेस्रो दिन हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर- ४ बडहरेस्थित लक्ष्मी मावि केन्द्रबाट परीक्षा दिइरहेका नक्कली परीक्षार्थी सोही ठाउँका-२१ वर्षीय राम राई पक्राउ परेका हुन् ।
बडहरेकै २६ वर्षका श्यामराज राईको नाममा उनले परीक्षा दिएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
सक्कली परीक्षार्थी श्यामराजले रामलाई परीक्षार्थी बनाएर परीक्षा दिन लगाएको खुलेको केन्द्राध्यक्ष नयन कुमार राईले जानकारी दिए।
नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने श्यामराज हलेसी तुवाचुङ नगरपालिकाका सवारी चालक रहेको बुझिएको छ।
पक्राउ परेका नक्कली परीक्षार्थीलाई जिल्ला झिकाइएको प्रहरीले जनाएको छ।