खोटाङ, २१ चैत । ‘राई इज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दुत चयन हुनुभएको छ । गीत÷सङ्गीतको क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासमेत ख्याती कमाउनुभएका गायक राईलाई यही चैत–१९ गते बसेको नगर कार्यपालिकाको बैठकले सद्भावना दुत चयन गरेको हो ।
सोही नगरपालिकाको वडा नं.–१४ बुइपामा जन्मनुभएका गायक राईलाई हाम्रो नगरको शान, मान र स्वाभिमानको रुपमा लिइएकाले नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दुत चयन गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “गायक राजेशपायल राईले हाम्रो नगरपालिकाको समग्र विकासमा केही गर्न खोजिरहनुभएको थियो । नगर कार्यपालिकाको बैठकबाट उहाँलाई नगर सद्भावना दुत चयन गरिएको छ”, उहाँले भन्नुभयो, “सद्भावना दुत चयन गरेपछि उहाँ नगरपालिकाको समृद्धि र पहिचानको निम्ति थप सक्रिय रहनुहुनेछ । उहाँको नियमित हुने देश तथा विदेश भ्रमणका क्रममा नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा हामी विस्वस्त छौँ ।”
नगर कार्यपालिका बैठकले विभिन्न १९ वटा विद्यामा सल्लाहकार चयन गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पूर्व नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईलाई अनुभवी सल्लाहकार चयन गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाको राजनीतिक सल्लाहकारमा प्रकाशकुमार श्रेष्ठ, प्राज्ञिक सल्लाहकारमा जसराज किराँती, स्वास्थ्य सल्लाहकारमा डा. के.के राई, सञ्चार सल्लाहकारमा कृष्ण आचार्य, कानूनी सल्लाहकारमा नारायणदाश राई, साँस्कृतिक संरक्षण सल्लाहकारमा पदमप्रसाद आचार्यलाई चयन गरिएको छ । यस्तै, सँस्कृति सभ्यता सल्लाहकारमा भोगीराज राई, कृषि सल्लाहकारमा सुर्य राई, पर्यटन सल्लाहकारमा ज्ञानिन राई, निजी क्षेत्र सल्लाहकारमा राजन आचार्य, परराष्ट्र समन्वय सल्लाहकारमा जेपी राई, खेलकुद सल्लाहकारमा विचारी तामाङलाई चयन गरिएको छ ।
स्थानीय सामग्री प्रवद्र्धन सल्लाहकारमा चन्द्रप्रसाद आचार्य, आन्तरिक पर्यटन सल्लाहकारमा जेपी राई, प्रदेश सञ्चार सल्लाहकारमा रत्नप्रसाद आचार्य र उपत्यका कानूनी सल्लाहकारमा लक्ष्मण आचार्यलाई चयन गरिएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । कानूनी सल्लाहकार बाहेक अन्य व्यक्तिलाई राज्यले उपलब्ध गराउने सेवासुविधा नदिने निर्णय गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
बैठकले अनुभवी सल्लाहकार, नगर श्रोत व्यवस्थापन सल्लाहकार, प्रोजेक्ट बैङ्क सल्लाहकार र प्राज्ञ एवम् विज्ञ समूहसमेत चयन तथा गठन गरेको छ । सल्लाहकार तथा विज्ञ समूहमा जिल्लाका विभिन्न ठाउँमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको अनुभव बटुलेका व्यक्तित्वहरु रहनुभएको जनाइएको छ ।
यसैबीच, नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रमसमेत गर्ने निर्णय गरेको छ । जिल्लाको महत्व, यहाँका सँस्कृति र सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले चित्रकला कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
आगामी वर्ष आयोजना गरिने चित्रकला कार्यक्रममा विभिन्न देशका वरिष्ठ चित्रकार तथा नेपालका मूर्धन्य चित्रकारहरुलाई दिक्तेलमा सहभागी गराउने कार्ययोजना बनाइएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो । “देश तथा विदेशका चित्रकारहरुलाई एक साता दिक्तेलमा राखेर नगरपालिकाका साथै जिल्लाका महत्वपूर्ण ठाउँहरुको चित्र क्यानभासमा उतार्न लगाइनेछ । दिक्तेलमा उतारिएको चित्र काठमाडौँ लगेर उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा प्रर्दशनी गर्ने योजना बनाइएको छ”, उहाँले भन्नुभयो, “चित्रकला कार्यक्रमले जिल्लाका प्रतिभाहरुको प्रष्फुटन हुनुका साथै जिल्ला र नगरलाई अन्तर्राष्ट्रियस्तरसम्म पहिचान बनाउन सहयोग पुग्छ । यसले यहाँको सँस्कार, सँस्कृति र पर्यटनको प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
नगरपालिकाको समग्र विकासका लागि पाँच वर्षे आवधिक योजना निर्माणको काम भइरहेको पनि जनाइएको छ । आगामी दिनमा आवधिक योजनाको मार्गदर्शन अनुसार वार्षिक नीति तथा कार्यक्रम तयार पारेर कार्यान्वयन गरिने जनाइएको छ ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिले अघि बढाएका योजनालाई समेत प्राथमिकतामा राखेर नगरको विकासमा आफूहरु लागेको नगर प्रमुख भट्टराईले जानकारी दिनुभएको छ । प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त बजेटमार्फत नगरभित्र सञ्चालित योजनाको गुणस्तर निर्धारण एवम् छिटो सम्पन्न गर्न÷गराउनसमेत निगरानी भइरहेको जनाइएको छ ।