खोटाङ, २६ चैत । बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीनजना यात्रु गम्भीर घाइते भएका छन् । महेश्वरीस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो आज (आइतबार) दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् ।
दुर्घटनाका गम्भीर घाइते तीनैजनालाई हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको वडाध्यक्ष टंकराम राईले जानकारी दिनुभएको छ । बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदै गर्दा मयुर आधारभुत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जानेक्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । घाइते तीनैजनाको अवस्था गम्भीर रहेकाले थप उपचारमा काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटना लगत्तै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । ऐसेलुखर्कमा ढुवानीको सामान ओसारपसार गर्ने उक्त बुलेरो दुर्घटनास्थलमै रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।