मोटरसाइकल दुर्घटनाका घाइतेको हेलिकोप्टरमार्फत उद्धार

Halesi Khabar
0 Shares

खोटाङ, २८ चैत । मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय निश्चल राईलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । बिपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएर मङ्गलबार दुर्घटना भएलगत्तै दिक्तेलस्थित फेमेली केयर अस्पतालमा भर्ना गरिएका निश्चलको जिल्लामा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी काठमाडौँ लगिएको हो ।

गम्भीर घाइते निश्चलको टाउको, अनुहार, हातखुट्टा र शरीरका अधिकांश भागमा चोट लागेको प्रहरी बिट रत्नपार्कका प्रमुख प्रहरी नायब निरीक्षक गोपी कटवालले जानकारी दिनुभयो । मध्यहाडी लोकमार्ग अन्तरगत बाम्राङको काँडेस्थित सडकखण्डमा दिक्तेलबाट मुडेतर्पm जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाइकललाई बा ६० प ६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बा ६६ प १११४ मोटरसाइकलको पछाडि बसेका निश्चल गम्भीर घाइते भएका हुन् ।

निश्चल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित आफन्तकामा बसेर कक्षा–८ को परीक्षा सकेपछि आफन्तसँग घर जाँदै थिए । निश्चल सवार मोटरसाइकल आफ्नो साइडमा कुदिरहेको अवस्थामा अर्कोपट्टीबाट आएको मोटरसाइकल रङ साइडमा आएर हानेको जानकारी पाइएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का नेता सुरेशकुमार राईले जानकारी दिनुभयो ।

निश्चल चढेको मोटरसाइकल सोही स्थानका २७ वर्षीय अगम राईले चलाएको जनाइएको छ । दुर्घटनामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राईसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैजनाको फेमेली केयर अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैजनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया