नेत्र ज्योति सङ्घ खोटाङका सभापतिमा पुनः कसजू चयन

Halesi Khabar
0 Shares

खोटाङ, २९ चैत । नेपाल नेत्र ज्योति सङ्घ खोटाङका सभापतिमा पुनः इन्द्र कसजू चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार सम्पन्न सङ्घको पाँचौँ साधारणसभा तथा जिल्ला अधिवेशनले कसजूलाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्विरोध चयन गरेको हो ।

अधिवेशनले सनमान खड्का, कमलप्रसाद आचार्य, गीता शङ्कर, रेखा राई, कुमारसिं बस्नेत, बिन्दा थापा, विनोद खड्का, यादव श्रेष्ठ, पुष्पा राई, मणिशोभा राई ‘मायाँ’, प्रेमकुमार श्रेष्ठ र लक्ष्मीदास सैँजूलाई सदस्यमा चयन गरेको छ । तेह्र सदस्य जिल्ला कार्यसमिति रहने सङ्घको उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्वाचित समिति जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।

साधारणसभाले सङ्घको नीति तथा कार्यक्रमसमेत पारित गरेको छ । नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दले उद्घाटन गर्नुभएको अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष द्रोण गुरागाईँ र कार्यकारी निर्देशक डा.शैलेषकुमार सिंह, प्रदेश सभापति श्यामसुन्दर उदास लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष पत्रकार दमन राई र आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र प्राविधिक हरिहर श्रेष्ठलाई सङ्घले सम्मान गरेको छ । पत्रकार राई र प्राविधिक श्रेष्ठलाई प्रमुख अतिथि चन्दले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

वि.सं. २०६० वैशाख–१० गते स्थापना भएको नेपाल नेत्र ज्योति सङ्घले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया कार्यक्रम गर्दै आएको छ । डा. गुणराज लोहनी संस्थापक सभापति रहेको नेत्र ज्योति सङ्घले दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरेर सेवा उपलब्ध गराइरहेको छ ।

तपाईको प्रतिक्रिया