१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि केपिलासगढीलाई

Halesi Khabar
0 Shares

खोटाङ, २ वैशाख । १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको छ । आगामी वैशाख–११, १२ र १३ गते सुनसरी जिल्लाको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत पदकसहित प्रथम उपाधि उचालेको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्रछात्रामात्र सहभागी जिल्लास्तरीय राष्ट्रपछि रनिङ शिल्ड प्रतियोगितामा छ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो, चार स्वर्ण, चार रजत र दश कास्य पदकसहित दिप्रुङ चुइचुम्म गाउँपालिका तेस्रो भएका छन् । यस्तै, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौँ भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय राष्ट्रपछि रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिका सहभागी भएका थिए । गत चैत–२८ गतेदेखि सञ्चालन भएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पाँच विद्या (एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो)मा १३८ पदकका लागि प्रतिस्पर्धा गरिएको हो ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एथलेटिक्समा २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेमा आठ स्वर्ण, आठ रजत, आठ कास्य र तेक्वान्दोमा आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको खेलकेद विकास समितिका प्रमुख केसीले जानकारी दिनुभएको छ । जिल्लास्तरीय राष्ट्रपछि रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः नगद रु १५ हजार, रु १२ हजार र रु नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको भोलिपल्ट हलेसी तुवाचुङ नगरपालिकाले एकजना अनाधिकृत खेलाडी समावेश गरेको पाइएपछि दुई दिनसम्म प्रतियोगिता रोकिएको थियो । एथलेटिक्स अन्तरगत सटपुटतर्फ स्वर्ण पदक जित्न सफल खेलाडी अनाधिकृत भएको खुलासा भएपछि प्रतियोगिता रोकिएको हो ।

दिप्रुङ चुइचुम्माका छात्र खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हलेसी तुवाचुङका अनाधिकृत खेलाडीको पदक खोसेर बाँकी खेल सञ्चालन गर्न प्रदेश खेलकुद विकास बोर्डले निर्देशन दिएपछि अवरुद्ध खेल पुनः सञ्चालन भएको थियो । प्रतियोगितामा अनाधिकृत खेलाडी सहभागी गराएको पाएपछि असन्तुष्ट बनेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने, कानूनी कारबाहीको प्रक्रिया अपनाउने बताउँदै आएको छ ।

गत वर्ष सञ्चालन भएको १२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी पहिलो, हलेसी तुवाचुङ नगरपालिका दोस्रो र ऐसेलुखर्क गाउँपालिका तेस्रो भएको थियो । दिक्तेल रुपाकोट मझुवागढीले २२ स्वर्ण, ११ रजत र नौँ काँस्य, हलेसी तुवाचुङले नौँ स्वर्ण, नौँ रजत र छ काँस्य तथा ऐसेलुखर्कले चार स्वर्ण, चार रजत र एक काँस्य पदक जितेको थियो ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा कराँते र तेक्वान्दोमा छ÷छ जना छात्रछात्राले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईले जानकारी दिनुभयो । प्रदेशस्तरीय राष्ट्रपछि रनिङ शिल्ड प्रतियोगितामा खेलाडीसँगै संरक्षक, प्रशिक्षक र व्यवस्थापकसमेत पठाइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया