काठमाडौं, २ वैशाख । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजाल चीन प्रस्थान गरेका छन् ।
विश्व कम्युनिष्ट पार्टीका सैद्धान्तिक कार्यकर्ताहरूका लागि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गर्ने विशेष कार्यशाला ‘वर्कसप फर थियोरेटिकल क्याडर्स अफ वर्ल्ड कम्युनिष्ट पार्टीज’मा सहभागी हुन रिजाल चीन गएका हुन् ।
कार्यशालामा सहभागीहरूले ‘विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण’ विषयमा धारणा राख्नेछन् । नेकपा एमालेको प्रतिनिधित्व गर्दै चीन गएका रिजालले एमालेको तर्फबाट जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज), त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा जोड दिदै आफ्नो धारणा व्यक्त गर्नेछन् ।
१५ दिनसम्म चल्ने कार्यशालामा सहभागीहरूले राखेको धारणामाथि छलफल हुनेछ । दैनिक नेपालबाट