परीक्षा दिएर फर्केका छोराको दुर्घटनामा परी मृत्यु भएपछि बुबाआमा भावविह्वल

Halesi Khabar
0 Shares

खोटाङ, ३ वैशाख । मोटरसाइकल दुर्घटनामा घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १३ वर्षीय निश्चल राईको उपचारको क्रममा मृत्यु भएको छ । बिपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएर गत चैत–२८ गते दुर्घटना हुँदा गम्भीर घाइते बनेका निश्चलको आज (आइतबार) काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

मध्यहाडी लोकमार्ग अन्तरगत बाम्राङको काँडेस्थित सडकखण्डमा दिक्तेलबाट मुडेतर्पm जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाइकललाई बा ६० प ६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बा ६६ प १११४ मोटरसाइकलको पछाडि बसेका निश्चल गम्भीर घाइते भएका थिए । दुर्घटना लगत्तै दिक्तेलस्थित फेमेली केयर अस्पतालमा भर्ना गरिएका निश्चलको जिल्लामा उपचार सम्भव नभएपछि सोही दिन हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।

निश्चल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित आफन्तकामा बसेर कक्षा–८ को परीक्षा सकेपछि आफन्तसँग घर जाँदै थिए । निश्चल सवार मोटरसाइकल आफ्नो साइडमा कुदिरहेको अवस्थामा अर्कोपट्टीबाट आफ्नो साइड मिचेर आएको मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक निश्चल चढेको मोटरसाइकल सोही स्थान (नुनथला)का २७ वर्षीय अगम राईले चलाएको जनाइएको छ । दुर्घटनामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राईसमेत सामान्य घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते निश्चलको मृत्युपछि उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी बेनुका कार्कीले जानकारी दिनुभयो । दुर्घटना गराउने अश्विनको मोटरसाइकल पनि आफ्नो नभएको र चालक अनुमतिपत्रसमेत नरहेको प्रहरीले जनाएको छ ।

चालक अनुमतिपत्र नभएका व्यक्तिले चलाएको सवारी दुर्घटना गराएको खण्डमा घाइतेको मृत्यु भयो भने चालकलाई ज्यान मार्ने उद्योग अन्तरगत कारबाही हुने कानूनी व्यवस्था छ । मृतक निश्चल सवार मोटरसाइकल चालक अगमको भने, चालक अनुमतिपत्र र बिलबुक दुवै रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक निश्चलको काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षण गरेर किराँत परम्परा अनुसार काठमाडौँमै अन्त्यष्टि गरिएको आफन्तले बताएका छन् । एउटैमात्र सन्तानका बुबा÷आमा पञ्चकुमार र कविता राई छोरा निश्चलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि भावविह्वल भएका छन् ।

सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षकबाट अनिवार्य अवकास प्राप्त गर्नुभएका मृतक निश्चलका बुबा पञ्चकुमार अहिले गाडी चालक हुनुहुन्छ । आमा कविता घरायसी काम गर्दै नुनथलामै बस्दै आउनुभएको छिमेकीहरुले बताएका छन् ।

कक्षा–७ सम्म काठमाडौँ बसेर बोर्डिङ स्कूलमा अध्ययन गरेका निश्चललाई माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)को परीक्षा सरकारी विद्यालयबाट दिनेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका मावि ल्याइएको मृतकका आफन्त एवम् नेकपा (माओवादी केन्द्र) खोटाङका नेता सुरेशकुमार राईले जानकारी दिनुभयो । सरकारी विद्यालयबाट राम्रो नतिजा ल्याएर एस.ई.ई. उत्तिर्ण गराउन गाउँ ल्याइएका निश्चलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि परिवार शोकमा डुबेका छन् ।

तपाईको प्रतिक्रिया