सडक कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधारमन्त्रीलाई ध्यानाकर्षण

Halesi Khabar
0 Shares

खोटाङ, ३ वैशाख । जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । पटकपटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडकखण्ड कालोपत्रको काम नगरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आज (आइतबार) मन्त्री ज्वालालाई उहाँको कार्यकक्षमै ध्यानाकर्षणपत्र बुझाउनुहुँदै अवरुद्ध सडक कालोपत्रको काम तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

ठेकेदारलाई धेरै पटक अनुरोध र दबाब दिँदा पनि काम नभएपछि मन्त्रालयमै पुगेर मन्त्रीलाई ध्यानाकर्षणपत्रमा बुझाउन बाध्य हुनु परेको समन्वय प्रमुख राईले बताउनुभयो । “मन्त्री ज्यूलाई कार्यकक्षमै भेटेर अवरुद्ध कालोपत्रको काम सम्पन्न गरि यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरिएको छ । ठेक्का लागेको पाँच वर्ष बित्दासमेत भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले सडक कालोपत्रको काम सम्पन्न गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “ठेकेदारले गत चैत पहिलो साताबाट डिबिएसटीको काम शुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने लगायतका प्रतिवद्धता जनाएका थिए । तर, उसले आफ्नो सेड्युल अनुसार काम नगरेपछि मन्त्री ज्यूलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएका छौँ । उहाँले चासो देखाउनुभएको छ ।”

जिल्ला समन्वय समितिले खोटाङको लाइफलाईनका रुपमा रहेको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम यथाशीघ्र सम्पन्न गराउनका लागि समेत पहल गर्न मन्त्रीसमक्ष माग आग्रह गरेको छ । महुरे–फोक्सिङटार सडकको महुरे–राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम भारत कन्ट्रक्सन–सिद्धीशाही र सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्ड (२७ किलोमिटर) कालोपत्रको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले गरिरहेको छ ।

सगरमाथा राजमार्ग अन्तरगत पर्ने उक्त दुवै सडकखण्डको काम प्रगति निराशाजनक छ । महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको भारत कन्ट्रक्सन÷सिद्धीशाही निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडिसकेको छ ।

गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ–४ गते क्रसरको सामान उठाएर लगेको स्थानीय बासिन्दाले बताएका छन् । ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ ।

सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र त्यहाँ कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीय बासिन्दाले वि.सं. २०७६ पुस–२० गतेदेखि महिना दिन उक्त सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउँन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ ।

महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । करिब १३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडकखण्डको गाईघाटबाट महुरेसम्म १०१ किलोमिटर सडकखण्ड कालोपत्रका लागि रु दुई अर्ब ६८ करोडको लगानीमा सम्पन्न हुने जनाइएको छ ।

निर्माण गरेर सञ्चालनमा आएको २३ वर्षपछि कालोपत्रको काम थालिएको महुरे–फोक्सिङटार सडक अहिले हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा पटकपटक अवरुद्ध हुँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको उक्त दिक्तेल–गाईघाट सडक जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्दछ ।

 

 

तपाईको प्रतिक्रिया