मिसन ग्रासरुट अभियानका क्रममा तीन हजार नयाँ सदस्यता थपियो : एमाले खोटाङ

Halesi Khabar
0 Shares

खोटाङ, ४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा तीन हजार नयाँ सदस्य थपेको जानकारी दिएको छ । गत फागुन–५ गतेबाट देशभर एकैसाथ सञ्चालन गरिएको ‘पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९’का क्रममा खोटाङमा तीन हजार नयाँ सदस्य थपिएको एमालेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिएको अभियानका क्रममा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले जानकारी दिनुभयो । “मिसन ग्रासरुट अभियानको मुख्य उद्देश्य नै सङ्गठन सदृढीकरण थियो । अभियानका क्रममा तीन हजार नयाँ सदस्य सदस्य थपिएका छन्”, उहाँले भन्नुभयो, “विभिन्न पार्टीका नव प्रवेशी नेता तथा कार्यकर्तालाई उचित मूल्याङ्कनसहित विभिन्न जिम्मेवारीमा राखिएको छ । यसले हाम्रो पार्टी नेकपा एमाले थप मजबुत बनेको छ ।”

मिसन ग्रासरुट अभियानका क्रममा जिल्लाका दशवटै स्थानीय तह, ७९ वटै वडा र ७९२ वटा टोल समितिहरुलाई थप क्रियाशील बनाइएको दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । पार्टीलाई थप वैचारिकरुपले सशक्त र क्रियाशील बनाउन पार्टी स्कूल विभागको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकामा आवासीय पार्टी स्कूल सञ्चालन गरिएको एमालेले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा एमालेको नौँ हजार ३२७ जना सङ्गठित सदस्य रहेको एमाले खोटाङका जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभयो । “अभियानका क्रममा ७० प्रतिशत सङ्गठित सदस्यले आफ्नो सदस्यता नवीकरण गरेका छन् । बाँकी ३० प्रतिशतको पनि धमाधम भइरहेको छ”, उहाँले भन्नयो, “स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देखा परेका असमझदारीहरुलाई आलोचना, आत्मालोचना र सहमतिका आधारमा समाधान गरिएको छ ।”

अभियान सम्पन्न भएपछि बसेको जिल्ला कार्यसमितिको आठौँ पूर्ण बैठकले दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षबाट बिदा हुनुभएका कृष्ण कार्कीलाई जिल्ला सदस्य तथा जिल्ला सचिवालय सदस्यद्धय किशोर श्रेष्ठलाई हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्ज र कमल ढकाललाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहइन्चार्जमा मनोनित गरिएको जनाएको छ । यस्तै, विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका जीवन राई, राजदेश राई, ढाकमशे राई, निर्मल राई, रामचन्द्र भट्टराई, प्रेम खनाल, राजेन्द्र राई, रामसिं राई, ताराकान्त राई, चिरञ्जिवी बुढाथोकी, छत्रबहादुर खड्का ‘कवित’, भलाराज राई र गणेश अधिकारीलाई जिल्ला सदस्यमा मनोनित गरिएको एमालेले जनाएको छ ।

यसैबीच, गत चैत–२५ गते एमालेका प्रदेश समिति सदस्य एवम् खोटाङ प्रदेशसभा–१ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’माथि भएको अभद्र व्यवहारप्रति ध्यानाकार्षण भएको जनाएको छ । जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्लासभा उद्घाटनका क्रममा समन्वय समिति खोटाङको समेत संलग्नतामा प्रदेशसभा सदस्य पिकेमाथि अभद्र व्यवहार भएको आरोप लगाउँदै आगामी दिनमा यस्तो घटना दोहोरिए एमसिसि र एसपिपि पास गर्ने सांसदलाई पनि जिल्ला प्रवेशमा रोक लगाउने एमालेले चेतावनी दिएको छ ।

 

तपाईको प्रतिक्रिया