खोटाङ, ४ वैशाख । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिले आयोजना गरेको सर्वाधिक राशिको ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता शुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले यही वैशाख–९ गतेसम्म सञ्चालन हुने जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको प्रतियोगिता सोमबारदेखि शुरु भएको हो ।
गाउँपालिकाको केन्द्र चिसापानीस्थित खर्क खेलमैदानमा आयोजना गरिएको गोल्डकप प्रतियोगिताको पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबले विजयी यात्रा शुरु गरेको छ । त्रियुगा स्पोर्टस क्लब गाईघाटलाई ३–१ गोल अन्तरले हराउँदै जन्तेढुङ्गा फुटबल क्लबले विजयी यात्रा शुरु गरेको हो ।
पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबका ११ नं. जर्सीका खेलाडी अब्दुल्हा म्यान अफ द म्याच घोषित भएका छन् । अब्दुल्हाले नगद रु पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको दोस्रो खेल मङ्गलबार दिउसो २ः३० बजे बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लबीच हुने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको तेस्रो खेल बुधबार दिउसो २ः३० बजे भोजपुर फुटबल सङ्घ र बेल्टार एकता क्लबबीच तथा चौथौ खेल गोलबजार स्पोर्टस क्लब र भगवती स्पोर्टस क्लबबीच बिहीबार २ः३० बजे सञ्चालन हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ ।
विभिन्न आठ समूहका खेलाडी सहभागितामा प्रथम पुरस्कार राशि नगद रु दुई लाख ५५ हजार ५०० को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु एक लाख ५५ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
गोल्डकपमा सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक र उत्कृष्ठ डिफेण्डरलाई नगद रु दश÷दश हजार तथा म्यान अफ दि म्याचलाई नगद रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गोल्डकप सञ्चालन गर्न रु ३० लाख बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । गोल्डकपमा सहभागी खेलाडीहरुका लागि खाना, बास तथा आवतजावतको व्यवस्था गरिएको जनाइएको छ ।
गोल्डकपले गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिता गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ र जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।