खोटाङ, ५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका दुर्गाप्रसाद आचार्य जिल्ला आयुर्वेद कार्यालय खोटाङमा कार्यरत कार्यालय सहयोगी हुन् । वि.सं. २०७१ असोज–१७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती लिएर आफ्नो जिम्मेवारी सम्हाल्दै आएका आचार्यलाई गत माघ–१ गतेदेखि कार्यालय प्रमुख डा. उमेशकुमार मेहताले हाजिर गर्न दिएका छैनन् ।
दैनिक कार्यालय आएर काम गर्दै आएका आचार्यलाई प्रमुख डा. मेहताले अब कार्यालय नआउन पटकपटक दबाब दिँदै आएको बुझिएको छ । तर, आचार्य भने दैनिक कार्यालयमा आएर बिगत झै आफ्नो जिम्मेवारी सम्हाल्दै आएका छन् ।
आर्थिकरुपमा कमजोर आचार्यलाई कार्यालय प्रमुख डा. मेहताले हजिर हुन नदिएपछि पुनः जागिरमा जोडिदिन विभिन्न निकाय गुहार्न थालेका छन् । कार्यालय सहयोगीको तलबबाट घर परिवार चलाउँदै आएका आचार्यले कर्मचारीहरुको विभिन्न पेशागत सङ्गन तथा पत्रकारलाई समेत आफ्नो जागिर थपाइ दिन अनुरोध गरिरहेका छन् ।
नौँ वर्षदेखि खाँदै आएको जागिर डा. मेहता कार्यालय प्रमुख भएर आएपछि प्यान्टी (अन्डर वेयर) नधोएको निहुँमा हटाएको आचार्यले बताएका छन् । “मेरो काम कार्यालय सरसफाइ गर्ने हो । कार्यालय प्रमुखको लुगाकपडा धुने होइन”, उनले भने, “हाकिम सा’बले भनेपछि उहाँले लगाएको लुगासमेत धोइदिएँ ! लुगा धुँदा उहाँको प्यान्टीसमेत धुन लगाउनुभयो । म बाहुनको छोरा हुँ । प्यान्टी चाँहि धुँदिन हाकिम सा’ब भन्दा जागिरबाटै हटाइ दिनुभयो । उमेरले पनि डाँडो काट्न लाग्यो ! अन्य काम गर्न सक्दिन । करारको जागिर पनि गएपछि परिवारको समेत बिचल्ली भएको छ ।”
कार्यालय प्रमुख मेहताले करारमै कार्यरत ल्याब असिस्टेन उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यको समेत जागिर खाइदिएको पाइएको छ । उर्मिला सुत्केरी भएको अवस्थामा र नवीन बिरामी भएको अवस्थामा जागिरबाट हटाएको समाचार स्रोतले जनाएको छ ।
यस्तै, कार्यालय प्रमुख मेहताले ऐसेलुखर्कमा कार्यरत सीता यादव र दिक्तेलमा कार्यरत भीमप्रसाद कोइरालाको समेत सट्टा भर्ना गरेका छन् । करारमा रहेको उनीहरु दुवैजनाको सरुवा प्रमुख डा. मेहताको अनुकुलका लागि गरेको समाचार स्रोतको दाबी छ ।
कार्यालय प्रमुख डा. मेहताले भने, करारमा रहेका आचार्यसहित जागिरबाट हटाइएका तीनैजनाको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले हटाएको बताएका छन् । “करारमा भर्ना गरिएका कर्मचारी स्थायी होइनन् । उनीहरुको करार सम्झौता नै हरेक छ÷छ महिनामा गर्नुपर्ने हुन्छ”, उनले भने, “उहाँहरुको कार्यसम्पादन चित्तबुझ्दो थिएन ! तोकिएको काम पूरा नगरेपछि करार सम्झौताको म्याद थप नगरिएको हो ।”
करार कर्मचारीको सम्झौता म्याद थप नभएपछि जिल्ला आयुर्वेद कार्यालय तनावग्रस्त बनेको छ । लामो समय कविराजले सञ्चालन गर्दै आएको जिल्ला आयुर्वेद कार्यालयमा गत वर्षमात्रै कार्यालय प्रमुखको रुपमा डा. मेहता आएका हुन् ।