रावाबेँसीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५११ जनाको उपचार

Halesi Khabar
0 Shares

खोटाङ, ६ वैशाख । रावाबेँसी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५११ जनाले सेवा लिएका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी)सँगको सहकार्यमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन २६५ महिला र २४६ जना पुरुषले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कौसल अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र हरमटारमा आयोजना गरिएको शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग र मुटु रोग गरी १४ प्रकारका रोगहरुको उपचार तथा पहिचान गरिएको छ । रोगको सामान्य अवस्थामा रहेका सेवाग्रहीहरुको शिविरमै उपचार गरिएको छ ।

शिविरमा आवश्यक औषधिको व्यवस्था गाउँपालिकाले गरेको छ । शिविरमा छिमेकी पालिका ऐँसेलुखर्कका नागरिकसमेत सहभागी छन् । ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मले सेवा लिएको निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै काठमाडौँ मेडिकल कलेजबाट आएका २६ जना चिकित्सकको टोली खटिएका थिए ।

सामान्य रोगको शिविरमै औषधी उपचार गरिएको र जटिल रोग देखा परेकाहरुलाई काठमाडौँ मेडिकल कलेजमा शल्यक्रियासहितको निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । काठमाडौँ लगेर उपचार गर्नुपर्ने जटिल रोगहरु पहिचान भएकाहरुको अध्ययन चिकित्सकको टोलीले गरिरहेको छ ।

शल्यक्रिया लगायत अस्पतालमा गरिएको उपचार निःशुल्क हुँदा बाहिर खरिद गर्ने औषधि स्वय् व्यक्तिले गर्नुपर्ने सम्झौता भएको गाउँपालिका प्रमुख श्रेष्ठको भनाइ छ । तर, काठमाडौँसम्म आवतजावत एवम् औषधि खरिद गर्न नसक्ने अवस्थाका बिरामीलाई गाउँपालिकाले व्यवस्था गरिदिने जनाइएको छ ।

यसअघि केपिलासगढी गाउँपालिकाले आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार १०२ जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा मङ्गलबार सम्पन्न शिविरमा गाउँपालिकाको विभिन्न गाउँबाट आएका ५३० जना पुरुष र ५७२ जना महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

तपाईको प्रतिक्रिया