खोटाङ, ६ वैशाख । ‘खोटाङ रङ्गमञ्च’ खोटाङले जिल्लामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएको छ । लागू औषध दुव्र्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको कचहरी नाटक प्रदर्शनमा ल्याइएको हो ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको जीवन भोगाइमा आधारित कचहरी नाटक दर्शकको रोजाइमा परेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा ‘हामी स्वयम्सेवी अभियान’को सहकार्यमा तयार पारिएको कचहरी नाटक बुधबारदेखि प्रदर्शनमा ल्याइएको हो ।
कचहरी नाटकले नगरबासीको मात्र नभइ जिल्लाबासीकै जनचेतना अभिवृद्धिमा सहयोग पु¥याउने अपेक्षा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “हाम्रो समाजमा अवाञ्छित लाञ्छना लगाउने तथा घर पारिवारमा हुने बेमेल र झै–झगडाले बालबच्चामा ठूलो असर पु¥याएको छ । अझ भनौँ पछिल्लो समय लागू औषध दुव्र्यसनका कारण किशोर÷किशोरीहरु फस्दै गएका छन्”, उहाँले भन्नुभयो, “कचहरी नामक नाटकले कुलतमा फस्दै गएका किशोर÷किशोरीलाई सजग गराउनुका साथै कुरीति तथा कुसँस्कार हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
पारिवारिक तथा सामाजिक परिबेसमा आधारित कचहरी नाटकले अधिकांश दर्शकको मन जित्न सफल भएको आयोजक खोटाङ रङ्गमञ्चका व्यवस्थापक एल.बी. मगरले जानकारी दिनुभयो । जनचेतनामूलक नाटक कचहरीमा खोटाङका कलाकारहरु सञ्जिव राई, योगिन राई, सविना राई, सलिना भुजेल, दीपेन्द्र राई, मिलन राई, आकृति भुजेल, ज्ञानेन्द्र विश्वकर्मा र मनिस परियारले अभिनय गर्नुभएको छ ।
जिल्लाका विभिन्न ठाउँमा प्रदर्शन गरिने जनचेतनामूलक कचहरी नाटक बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती मावि र वडा नं. २ सोल्मास्थित शुभम् फाउण्डेशनमा प्रदर्शन गरिएको छ । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा प्रदर्शन गर्ने तयारी गरिएको नाटक बिहीबार दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूल, स्याम्पल एकेडेमी र दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूलमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
कचहरी फ्रेममा तयार पारिएको नाटक कलाकारहरुलाई दश दिनको अभ्यास गराएर प्रदर्शनमा ल्याइएको रङ्गमञ्चका अध्यक्ष सञ्जिव राईले जानकारी दिनुभयो । कचहरी नाटकको निर्देशन ईलामका अनिल सुब्बाले गर्नुभएको जनाइएको छ ।
काठमाडौँस्थित मन्डला थ्रेटर लगायत विभिन्न थ्रेटरहरुमा लामो समय अभिनय गरेर आफ्नो जिल्लाका फर्किएका कलाकारहरुले आधिकारिकरुपमा दर्ता गरेर सञ्चालनमा ल्याएका खोटाङ रङ्गमञ्चले यसअघि पनि विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गर्दै आएको थियो । गत वर्ष साईनो कला केन्द्रसँगको सहकार्यमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको दुई स्थानमा पुगेरसमेत सडक नाटक प्रदर्शन गरेको थियो ।