किराँत प्रदेश स्थापनार्थ खोटाङमा ‘किराँत फोर्स’ गठन

Halesi Khabar
0 Shares

खोटाङ, १३ वैशाख । प्रदेशको नाम कोशी खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेको छ । कोशी नाम खारेज गरी किराँत प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलन गर्दै आएको संयुक्त सङ्घर्ष समिति, युवा परिचालन उपसमिति संयोजक निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किराँत फोर्स गठन गरिएको हो ।

पहिचान पक्षधरको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेसनमा बुधबार भएको भेलाले अगाडि शहीद पदम लिम्बू (लाजेहाङ)को तस्वीर र पछाडि किराँत फोर्स अङ्कित कालो टि–सर्टधारी युवा दस्ता सार्वजनिक गरेको छ । ऐतिहासिक पृष्ठभूमिको आधारमा किराँत प्रदेश पुनः नामाङ्कन आन्दोलनलाई सशक्त बनाउने तथा आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि किराँत फोर्स गठन गरिएको संयोजक राईले बताउनुभयो ।

संयोजक राई जनता समाजवादी पार्टी (जसपा) खोटाङका उपाध्यक्ष एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडाध्यक्ष हुनुहुन्छ । जिल्लाका दशवटै स्थानीय तहका परिपक्व र इमान्दार युवालाई छानेर किराँत फोर्समा आवद्ध गराइएको संयोजक राईले बताउनुभएको छ ।

किराँत फोर्समा आवद्ध युवालाई आवश्यकता परेको खण्डमा सैन्य तालिमसमेत दिएर परिचालन गर्ने योजना बनाइएको संयुक्त सङ्घर्ष समितिका संयोजक युगशन किराँतले बताउनुभयो । “अहिले हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ । माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ”, उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलनलाई राज्यले दबाउन खोजेको खण्डमा किराँत फोर्सलाई सैन्य तालिमसमेत दिएर प्रतिकारमा उतार्ने योजना बनाएका छौँ । यसबाट पर्न जाने क्षति राज्यले व्यहोर्नुपर्छ ।”

यसैबीच, प्रदेश १ संयुक्त सङ्घर्ष समिति, युवा परिचालन उपसमितिले दिक्तेलमा मोटरसाइकल ¥याली सहितको जनप्रदर्शन गरेको छ । संयुक्त सङ्घर्ष उपसमितिले शुभम् फाउण्डेसनबाट किराँतचोक, त्रिवेणीचोक, हाटडाँडा हुँदै भवनगैरासम्म मोटरसाइकल ¥यालीसहितको जनप्रदर्शन गरेको हो ।

‘कोशी प्रदेश खारेज गर ! ऐतिहासिक पृष्ठभूमीको आधारमा किराँत प्रदेश पुनः नामाङ्कन गर ! महान शहीद पदम लिम्बू (लाजेहाङ) अमर रहुन् !’ लगायतका नारा लेखिएको व्यानरसहितको ¥यालीले विभिन्न चोकमा कोणसभासमेत गरेको थियो । कोणसभालाई पहिचान पक्षधर नेताहरुले सम्बोधन गरेका थिए ।

¥यालीले बजार परिक्रमा गर्नेक्रममा मानव अधिकारचोकमा रहेको खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालय जलश्रोत तथा सिचाइँ विकास डिभिजन दिक्तेलको बोर्डमा उल्लेखित प्रदेशको नाम कोशीसमेत मेटाएको छ । आन्दोलनकारीले यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रकाशन गरेको कोशी प्रदेश उल्लेखित क्यालेन्डर जलाएको थियो ।

तपाईको प्रतिक्रिया