गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता : पुरुषतर्फ सङ्खुवासभा र महिलातर्फ भोजपुरले चुम्यो प्रथम उपाधि

Halesi Khabar
0 Shares

खोटाङ, १५ वैशाख । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ सँस्करण अन्तरगत पुरुषतर्फको उपाधि सभापोखरी गाउँपालिका–३ बाह्रबिसे सङ्खुवासभा र महिलातर्फको उपाधि रामप्रसाद राई गाउँपालिका–८ बासिखोरा भोजपुरले जितेका छन् । खोटेहाङ गाउँपालिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको सभापोखरी–३ ले नगद रु एक लाख १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो स्थानमा चित्त बुझाएको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ्ग भोजपुरले नगद रु ७० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ विभिन्न जिल्लाका २६ समूहले सहभागिता जनाएको थियो । सेमिफाइनलिस्ट दुई समूह बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले नगद रु ३५÷३५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिलातर्फको प्रथम टिम रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले नगद रु ७५ हजार, दोस्रो हुने भोजपुरकै आमचोक गाउँपालिका–९ दुम्मानाले नगद रु ४० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सेमिफाइनलिस्ट दुई समूह बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले नगद रु २५÷२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यागतमा पुरुषतर्फको सर्वोत्कृष्ट सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकरमा रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भएका छन् ।

महिलातर्फ सर्वोत्कृष्टमा रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोकका आरुशा तामाङ घोषित भएका छन् । उनीहरुलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताको अनुशासित दुई समूह पुरुषतर्फको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र महिलातर्फको बराहपोखरी गाउँपालिका–४ फाक्टाङलाई नगद रु पाँच÷पाँच हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । विजेता समूह र विद्यागत खेलाडीहरुलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई र विभिन्न वडाका वडाध्यक्षहरुले पुरस्कार प्रदान गरेका थिए ।

वार्षिक उत्सव समापन कार्यक्रममा उष्कृट कृषक, उत्कृष्ट कृषक समूह, उत्कृष्ट पशुपालक समूह, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षक लगायतलाई नगद पुरस्कारसहित सम्मान गरिएको जनाइएको छ । यसअघि गत वर्ष सञ्चालन भएको चौथो संस्करण अन्तरगत पुरुषतर्फको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडा तथा महिलातर्फको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले चुमेको थियो ।

तपाईको प्रतिक्रिया