खोटाङ, १७ वैशाख । सगरमाथा राष्ट्रिय राजमार्गअन्तरगत दिक्तेल–गाईघाट सडक खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने सबैभन्दा छोटो दूरीको सडकमार्ग हो । मध्यपहाडी लोकमार्गको महुरेबाट छुट्टिने उक्त सडकखण्डको महुरे–राजापानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्ट्रक्सन–सिद्धीशाहीले लिएको थियो । तर, उक्त सडकखण्ड कालोपत्र नगरी निर्माणस्थलमा प्रयोग गरिएका उपकरणसहित गत माघ–४ गते ठेकेदार नै फरार भएका छन् ।
कालोपत्र गर्न आवश्यक पर्ने निर्माण सामग्रीसमेत अलपत्र छाडेर ठेकेदार फरार भएपछि आइतबार प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’को नेतृत्वमा उक्त सडक डेढ घण्टा चक्काजाम गरियो । खोटाङ क्षेत्र नं. १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य पिके, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, वडा नं. १४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका वडाध्यक्ष अनिश कार्की लगायत अन्य नेता तथा कार्यकर्ता सडकमा पलेटी कसेर बसेपछि दुई दर्जनबढी यात्रुबाहक सवारी साधन बीच सडकमै रोकिएको थियो ।
बिहान छ बजेदेखि साढे सात बजेसम्म आयोजना गरिएको चक्काजामका क्रममा ठेकेदारबिरुद्ध चर्का नाराबाजीसमेत भएको थियो । ‘अलपत्र सडक तत्काल निर्माण गर’ लेखिएको ब्यानरसहित चक्काजाममा उत्रनुभएका प्रदेशसभा सदस्य पिकेसहित स्थानीय नेता तथा कार्यकर्ताले (सरकार, ठेकेदारहरुलाई तत्काल कारबाही गर, बेपत्ता ठेकेदारलाई खोजी गर, अति भो ! हामीले धुलो÷हिलो कहिलेसम्म खाने ?, असार आउन लाग्यो ! असारे बजेट मुर्दावाद !)जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मध्यपहाडी लोकमार्ग र सगरमाथा राष्ट्रिय राजमार्गको सङ्गमस्थल महुरेस्थित बीच सडकमै पलेटी कसेर बसेका थिए ।
प्रदेशसभा सदस्य पिकेको नेतृत्वमा राष्ट्रिय राजमार्ग चक्काजाम गरिएपछि प्रहरीले अवरोध गर्ने प्रयास गरेका थिए । चच्काजाम हटाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्की नेतृत्वको टोली महुरेगढी पुगेपनि रमिते बनेर फर्किएका थिए ।
प्रहरीले कालोपत्रको काम अलपत्र पारेर फरार भएका ठेकेदारलाई तत्काल पक्राउगरी कानूनी कारबाही गराउन दबाबस्वरुप डेढ घण्टा सडक चच्काजाम गरिएको प्रदेशसभा सदस्य पिकेले बताउनुभएको छ । “राज्यको सम्पत्ति दोहन गर्ने ठेकेदारलाई सिडियोले पक्राउ गरेर ल्याउनुपर्छ । जनताले तिरेको कर खाएर बसेका प्रहरी प्रशासन र नेताको संरक्षणमा ठेकेदारहरुले काम नगरेको हाम्रो ठम्याइ छ”, उहाँले भन्नुभयो, “चक्काजाम गर्नु हाम्रो रहर होइन । बाध्यता हो । जनताको माग हो । सिद्धीशाहीका ठेकेदार दीपेन्द्र शाही र मैनाचुलीका ठेकेदार मदन अधिकारीलाई तत्काल पक्राउगरी अड्डासार गर्दै ल्याएर कानूनी कारबाही गरियोस् । आगामी दिनमा फेरि यसरी आन्दोलन गर्न बाध्य नबनाइयोस् । यदि, हप्ता दिनभित्र कारबाही नभएको खण्डमा थप आन्दोलन चर्काउनेछौँ ।”
महुरे–राजापानी सडक कालोपत्रको जिम्मा लिने सिद्धीशाही निर्माण कम्पनीका अध्यक्ष एवम् सञ्चालक दीपेन्द्र शाही नेपाली काँग्रेस डोल्पाका सभापति एवम् गत २०७९ मङ्सिर–४ गते भएको प्रदेशसभा सदस्यको निर्वाचनमा डोल्पाका उपविजेता उम्मेदवार हुनुहुन्छ । यस्तै, राजापानी–फोक्सिङटार सडकखण्ड कालोपत्रको जिम्मा लिने मैनाचुली निर्माण कम्पनीका अध्यक्ष एवम् सञ्चालक मदन अधिकारी झापा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट निर्माण व्यवसायी हुनुहुन्छ ।
सिद्धीशाहीले चार वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी वि.सं. २०७३ असार–३० गते सडक विभागसँग सम्झौता गरेको थियो । रु ४१ करोड ५० लाख बजेटमा सम्झौता गरेको महुरे–राजापानी सडक वि.सं. २०७७ असार–२९ गते कालोपत्र सक्नुपर्ने सम्झौता भए पनि अझै सकिएको छैन । यस्तै, मैनाचुलीले पनि चार वर्षभित्र नै कालोपत्र गर्नेगरी वि.सं. २०७३ साउन–११ गते सम्झौता गरेको थियो । रु ५५ करोड ८७ लाखमा सम्झौता गरेको राजापानी–फोक्सिङटार सडक वि.सं. २०७७ साउन–१० गतेभित्र कालोपत्रको सम्पूर्ण काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने थियो ।
दिक्तेल–गाईघाट सडकखण्डको गाईघाटबाट महुरेसम्म १०१ किलोमिटर लामो सडकखण्ड कालोपत्रको काम रु दुई अर्ब ६८ करोडको लगानीमा सम्पन्न हुने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–११र राजापानीस्थित सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको सडकखण्ड (२७ किलोमिटर) कालोपत्रको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिए पनि सम्झौता अनुसार कामको प्रगति भएको छैन ।