खोटाङ, १८ वैशाख । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)का निर्देशक गणेश पाण्डेले रु एक करोड ३० लाख सहयोग प्राप्त गर्नुभएको छ । निर्देशक पाण्डेलाई आगामी दिनमा निर्माण गरिने अन्य वृत्तचित्र परियोजनाका लागि यो सहयोग दिइएकोे जनाइएको छ ।
निर्देशक पाण्डेको को–हजबेन्ड वृत्तचित्रले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । जापानमा आयोजित ’मेहोदो महोत्सव’मा १२२ देशका तीन हजार ५३३ वटा फिल्महरुलाई पछि पार्दै अन्तिम प्रतिस्पर्धामा निर्देशक पाण्डेको को–हजबेन्डले ब्रोन्ज अवार्ड जितेको हो ।
अप्रिल १९ बाट शुरु भएको दश दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेन्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको छ । “यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले रु एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो”, उहाँले भन्नुभयो, “यो मेरो मात्र नभइ नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो ।”
जापानबाट पाएको यो सहयोग रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेर दर्शकलाई पस्कन मलाई मद्दत मिलेको निर्देशक पाण्डेले बताउनुभएको छ । लम्जुङबाट पत्रकारिता शुरु गर्नुका निर्देशक पाण्डे प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
दुई दशकदेखि पत्रकारिता पेशामा क्रियाशील निर्देशक पाण्डेले यसअघि भाग्यले बाँचेकाहरु नामक बृत्तचित्र बनाउनुभएको थियो । निर्देशक पाण्डेले वृत्तचित्रका माध्यमबाट दर्जनौँ अवार्ड हात पारिसक्नुभएको छ ।
निर्देशक पाण्डे दैनिक नेपाल डटकमका अध्यक्ष एवम् सञ्चालक हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा काम गरिसक्नुभएका पत्रकार पाण्डे पछिल्लो समय आफ्नै निर्देशनमा वृत्तचित्र निर्माणमा व्यस्त हुनुहुन्छ ।