खोटाङ, १८ वैशाख । खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा निर्माणको काम शुरु गरेको सात वर्षपछि सप्तकन्या माध्यामिक विद्यालयको आठकोठे भवन सञ्चालनमा ल्याइएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा निर्माणको काम प्रारम्भ भएको विद्यालयको भवन हालै सम्पन्न भएपछि सोमबारको गाउँपालिक प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले उद्घाटन गर्नुभएको छ ।
विद्यालयको ६३ औँ स्थापना दिवसको अवसर पारेर भवन उद्घाटनसँगै वडास्तरीय भलिबल प्रतियोगितासमेत उद्घाटन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको जनाइएको छ ।
वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालयको भवन निर्माणको काम सात वर्षअघि शुरु गरेपछि तीनजना प्रधानाध्यापक परिवर्तन भइसकेको छ । तीनजना प्रधानाध्यापक परिवर्तन हुँदा पनि निर्माण कार्य नसकिएको विद्यालय भवनका लागि रु ३० लाख रकम अपुग हुँदा निर्माणको काममा ढिला भएको हो ।
तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुदान प्राप्त रु ६० लाख अनुदान रकमबाट निर्माण शुरु भएको भवनको सम्झौता प्रअ ईच्छाबहादुर राईले गर्नुभएको थियो । वर्तमान वडाध्यक्ष किरण राई प्रधानाध्यापक हुँदा शुरु भएको भवन वर्तमान प्रधानाध्यापक हीरा विष्टको कार्यकालमा सम्पन्न भएको हो ।
भवन उद्घाटन तथा वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रको सुधारको लागि गाउँपालिका प्रतिवद्ध रहेको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगाडिकाले के गरे भन्ने भन्दा अब हामी के गर्दैछौँ भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।
गाउँपालिका उपप्रमुख रुपेश राईले शैक्षिक गुणस्तर अबका पहिलो शर्त रहेको बताउनुभएको छ । उहाँले शिक्षाको विकास गर्नेपक्षमा सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीको साथमा स्थानीय सरकार निरन्तर रहेको बताउनुभयो ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक एवम् वडा न. ६ का वडाध्यक्ष वसन्त राईले पालिकाले शिक्षा क्षेत्रको विकासका लागि शिक्षकहरुलाई पुरस्कार र दण्डको नीति अगाडि सारेको बताउनुभएको छ । उहाँले हालै गाउँपालिकाले शिक्षकहरुको दरबन्दी मिलान, बालविकास केन्द्रका शिक्षिका थप, प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम लगायतका क्रियाकलाप शुरु गरेको जानकारी दिनुभयो ।
यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि नियमित अनुगमन, प्रधानाध्यापकहरुबीच नियमित अन्तरकृया, विषयगत शिक्षकहरु तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग नियमित छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तै, पूर्व प्रधानाध्यापक एवम् वडाध्यक्ष किरण राईले स्थानीय अभिभावकहरूको उल्लेख्य भूमिकालेमात्र विद्यालयको गुणस्तर कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।