घुमथलामा ‘हँतोलुङ साँस्कृतिक पार्क’ (उद्यान) निर्माण शुरु

Halesi Khabar
0 Shares

खोटाङ, १९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा ‘हँतोलुङ साँस्कृतिक पार्क’ (उद्यान) निर्माणको काम शुरु गरिएको छ । सङ्घीय सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त रु एक करोड ७२ लाखमा लगानीमा सम्पन्न गर्नेगरी पार्क निर्माणको काम शुरु गरिएको हो ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकार र नगरपालिकाको रु ८० लाख ५० हजार बजेट बराबरको काम गरिने किराँत राई चाम्लिङ राखमीहँछा उत्थान समाज नुनथालाका सचिव उद्धव राईले जानकारी दिनुभयो । “भविष्यमा राखमीहँछा पाछाका चाम्लिङ राईहरुका लागि अनुसन्धन केन्द्र बनाउने उद्देश्यले ‘हँतोलुङ साँस्कृतिक पार्क’ निर्माणको काम शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन पार्कमा हामी चाम्लिङ राई राखमीहँछाहरुको पुर्खा हँतोलुङको पूर्णकदको शालिकसमेत राखिने छ ।”

साढे १४ रोपनी क्षेत्रफल जमिनमा निर्माण हुने ‘हँतोलुङ साँस्कृतिक पार्क’ निर्माणको जिम्मा खोटाङकै महादेव निर्माण सेवा कम्पनीले लिएको जनाइएको छ । पार्क निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले आगामी असार मसान्तसम्ममा यस वर्ष सम्झौता गरिएअनुसारको सबै काम सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

स्थानीय चारजना जग्गादाताले निःशुल्क उपलब्ध गराउनुभएको नौँ रोपनी तथा स्वर्गीय हस्तीमान र कमलमायाँ राईको चार छोराहरुले किनिदिएको साढे पाँच रोपनी जग्गामा यस वर्ष हँतोलुङको शालिक, सङ्ग्रहालय र सौचालयको काम हुने सचिव राईले जानकारी दिनुभयो । “सङ्ग्रहालयमा चाम्लिङ राखमीहँछाहरुको जन्मदेखि मृत्युसम्ममा प्रयोग गरिने परम्परागत औजारहरु राखिनुका साथै भाषा, सँस्कार, सँस्कृति झल्काउने हातहातियार, भेषभुषा लगायतका सामग्रीहरु राखिन्छ”, उहाँले भन्नुभयो, “चाम्लिङ राई राखमीहँछाहरुले हँतोलुङलाई पुर्खाको मानेर पुज्ने गरेका छन् । उहाँ (हँतोलुङ)को सम्मान र सम्झनाका लागि समेत पार्क निर्माणको काम शुरु गरिएको हो ।”

‘हँतोलुङ साँस्कृतिक पार्क’ निर्माणका लागि स्थानीय डम्बर विश्वकर्माले एक रोपनी, देवान राई, दीर्घ राई र नीरकुमार राईले तीन÷तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको जनाइएको छ । यस्तै, चन्द्र चाम्लिङ राई, भीम चाम्लिङ राई, ध्रुव चाम्लिङ राई र शैलेन्द्र चाम्लिङ राईले स्वर्गीय बुबाआमा (हस्तीमान र कमलमायाँ राई)को सम्झनामा चार रोपनी जग्गा किनेर हस्तान्तरण गर्नुभएको सचिव राईले जानकारी दिनुभयो ।

घामथलामा निर्माण शुरु गरिएको पार्क नुनथलास्थित खाम्ला निबासी राखमीहँछा परिवारका अग्रज (पुर्खा) ८७ वर्षीय लक्ष्मीध्वज राई, नगरप्रमुख तीर्थराज भट्टराई र वडाध्यक्ष भगेश्वर राईले सोमबार संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो । निर्माणाधीन ‘हँतोलुङ साँस्कृतिक पार्क’ले राखमीहँछा परिवारको सँस्कार, साँस्कृति संरक्षणका साथै नगरको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने नगर प्रमुख भट्टराईले बताउनुभएको छ ।

राखमीहँछा पाछाका चाम्लिङ राईहरुको अहिले हँतोलुङका १३ औँ पुस्तामा आइपुगेको जनाइएको छ । हँतोलुङका सन्तान नेपालका विभिन्न २७ जिल्ला र भारतको सिक्कीममासमेत छरिएर बसोबास गरिरहेका बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया