राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

Halesi Khabar
0 Shares

खोटाङ, २० वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीका स्थानीय बासिन्दालाई शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

अस्थायी प्रहरी चौकी राजापानीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । राजापानीस्थित वडा कार्यालय नजिकै रहेको वडाकै पूरानो भवनमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै यहाँका नागरिकले शान्ति सुरक्षा महसुश गर्नुका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण हुने विश्वास गरिएको वडा अध्यक्ष अनिष कार्कीले बताउनुभयो । “प्रहरी चौकी स्थापनाका लागि आवश्यक फर्निचर, भान्छामा प्रयोग हुने सामान, विजुली तथा खानेपानी वडा कार्यालयले उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा प्रहरी चौकीलाई आवश्यक पर्ने सहयोग निरन्तर उपलब्ध गराइनेछ ।”

अस्थायी प्रहरी चौकी स्थापना कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी पबित्र प्रकाश शाह, जिल्ला प्रहरी कार्यालयका खोटाङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङ र सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम लगायत स्थानीयको उपस्थिति रहेको थियो । प्रहरी चौकी स्थापना गर्न राजापानी पुगेका टोलीलाई स्थानीय बासिन्दाले स्वागतसमेत गरेका थिए ।

दश स्थानीय तह रहेको खोटाङमा राजापानीसँगै ४३ स्थानमा प्रहरी चौकी स्थापना गरेर सञ्चालन ल्याइएको छ । उनासी वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, पाँचवटा ईलाका प्रहरी कार्यालय र बाँकी प्रहरी चौकी रहेका छन् ।

तपाईको प्रतिक्रिया