खोटाङ, २० वैशाख । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । नेलाल सरकार, सङ्घीय शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माण गरिएको पाँचकोठा भएको दुईतले पक्की भवन बुधबार उद्घाटन गरिएको हो ।
स्वास्थ्य चौकी भवन तेस्रो व्यक्तिको रुपमा पैँयूधारा निर्माण सेवा प्रा.लि.का प्रबन्ध÷निर्देशक धौलराज राईले रु एक करोड २९ लाख लागतमा निर्माण सम्पन्न गर्नुभएको जनाइएको छ । महिला÷पुरुषका लागि दुईवटा छुट्टाछुट्टै सौचालय तथा प्रसुति गृहसमेत रहेको स्वास्थ्य चौकी भवन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको हो ।
निर्माण व्यवसायी राईले निर्माणको काम सम्पन्न गरेर गत फागुन–१५ गते वडा कार्यालयलाई उक्त स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्नुभएको थियो । वडा कार्यालयले जिम्मा लिएको तीन महिनापछि औपचारिक रुपमा उद्घाटन गरिएको भवन चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको वडाध्यक्ष तुलाराम राईले बताउनुभयो ।