खोटाङ, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भानुचोकमा रास्वपाले शुक्रबार सम्पर्क कार्यालय स्थापना गरेको हो ।
तत्कालका लागि मुकुण्दकृष्ण थापा, पारस बिराट र सोनामहाङ राईलाई सम्पर्क व्यक्ति तोकेर सम्पर्क कार्यालय स्थापना गरिएको रास्वपाका प्रदेश समिति सदस्य मञ्जु बिष्टले जानकारी दिनुभएको छ । कार्यालयमा रहने तीनजना सम्पर्क व्यक्तिलाई पार्टीको बारेमा जान्न चाहने व्यक्तिलाई आवश्यक जानकारी दिने र सदस्य बन्न इच्छुक व्यक्तिलाई सदस्यता वितरण गर्न सहजीकरण गर्ने जिम्मेवारीसहित पार्टी कार्यालय स्थापना गरिएको रास्वपाले जनाएको छ ।
सदस्य सङ्ख्या वृद्धिसँगै केन्द्रका नेताहरुको उपस्थितिमा निकट भविष्यमा जिल्ला कार्य समिति गठन गर्ने प्रदेश सदस्य बिष्टले जानकारी दिनुभयो । “जिल्ला कार्यसमितिले गाउँ तथा नगरपालिका र वडा तहमा सङ्गठन विस्तार गर्ने छ”, उहाँले भन्नुभयो, “काँग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका कतिपय नेतासमेत रास्वपामा प्रवेश गर्नेगरी नियमित सम्पर्क र छलफलमा रहेका छन् ।”
जान्नेलाई छान्ने अर्थात राजनीतिक बिरासतभन्दा पनि पार्टीमा क्षमता र विज्ञताको आधारमा नेताले स्थान पाउने रास्वपाले जनाएको छ । रास्वपाको सङ्गठन विस्तारलाई जिल्लास्थित अन्य राजनीतिक दलले चासोकासाथ हेरेका छन् ।
सदस्यताका लागि खोटाङबाट अनलाईन आवेदन परिरहेको छ तर, कति जनाको आवेदन प¥यो भन्ने कुरा केन्द्रमा बुझ्न बाँकी रहेको रास्वपताले जनाएको छ । जिल्लाका धेरै अग्रज नेताहरु रास्वपामा आउन चाहेको सम्पर्क व्यक्ति बिराटले बताउनुभयो ।
रास्वपामा अन्य राजनीतिक दलका धेरै अग्रज नेताहरु प्रवेश गर्ने तयारी गरेपनि बिरासतले अलि असहज मानेको जनाइएको छ । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा काँग्रेसबाट भर्खरै रास्वपा प्रवेश गर्नुभएका डा. राजकुमार राई, रास्वपाका बागमती प्रदेश सदस्य गणेश बस्नेत लगायतको उपस्थितिमा थियो ।
जनताको जनभावना अनुसार परिवर्तनकारी आकांक्षा पुरा गर्न पुराना दलहरु पूर्णरुपमा असफल भएको रास्वपाले विज्ञप्तिमार्फत आरोप लगाएको छ । रास्वपाको उपस्थितिलाई सान्दर्भिक, जनभावना अनुकुल बनाउन मुलुकको हरेक कुनाकुनामा आफ्नो सङ्गठन विस्तारलाई मुर्त रुप दिने सिलसिलामा खोटाङ जिल्लामा पनि सङ्गठन विस्तार शुरु गरिएको विज्ञप्तिमा भनिएको छ ।