कोशीको विरोध गर्दै मझुवागढीमा मनाए किराँत समुदायले उँभौली साकेला

Halesi Khabar
0 Shares

खोटाङ, २२ वैशाख । किराँत ऐतिहासिकस्थल खोटाङको झुवागढीमा आयोजना गरिएको उँभौली साकेला सधैको जस्तो थिएन । चर्को नाराबाजी र भाषणमा कोशी प्रदेशको विरोध गर्दै उँभौली मनाइरहेका थिए किराँत समुदाय । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

शुरुमा आयोजना गरिएको विरोध कार्यक्रमपछि ढोल, झ्याम्टाको तालमा तन्नेरीहरु साकेला सिली नाचेका छन् । किराँत राई यायोक्खा, किराँत सेवा समाज र मझुवागढी संरक्षण समितिको संयुक्त आयोजित साकेला सिलीमा किराँतीमात्र नभइ गैरकिराँतसमेत लहर मिलाएर नाचेका थिए ।

किराँतीहरुले वैशाखे पूर्णीमादेखि महिना दिनसम्ममा उँभौली र मङ्सिरे पूर्णीमादेखि १५ दिनसम्म उँधौली गरी वर्षमा दुई पटक यो सिली नाँच्ने गरेका छन् । यो बेला अर्थात वैशाखे पूर्णिमाको समयमा जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उँभौली र मङ्सिरे पूर्णीमाको बेला उँधो लाग्ने भएकाले उँधौली भनिएको किराँत राई यायोक्खाका अध्यक्ष युगसन किराँतले बताउनुभयो ।

उँभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । उँधौलीको अवसरमा अन्नपातको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।

उँभौली–उँधौलीलाई आफन्तजना तथा इष्टमित्रसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रुपमा पनि मानिन्छ । उँभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँहरुमा उँभौली मनाइएको अध्यक्ष किराँतले जानकारी दिनुभयो ।

साकेला सिली किराँतीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध सँस्कृति बनेको पाइएको छ । उँभौली शुरु भएसँगै जिल्लाका गाउँ तथा बस्तीहरुमा ढोलझ्याम्टाको आवाज र साकेला गीतले गुञ्जयमान बनेको छ ।

छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँतीहरुको घरघरमा साकेला सिली नाच्ने चलन छ । उँभौली र उँधौली दुवै पटक चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो ।

साकेला उँधौलीको पहिलो दिन जिल्लास्थित विभिन्न किराँत ऐतिहासिकस्थलहरुमा भूमिको पूजाआजा गर्दै साकेला सिली नाच्ने चलन छ । उँधौली र उँभौली दुवै चाडमा किराँत समुदायको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजा गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया