विश्व शान्तिको कामनासहित त्रिधार्मिकस्थल हलेसीमा दीप प्रज्वलन

Halesi Khabar
0 Shares

खोटाङ, २४ वैशाख । विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।

हलेसीलाई भारत लगायत विश्वभर चिनाउने र धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको होटल व्यवसायी एवम् नेपाल दशनामी समाजका निवर्तमान केन्द्रीय अध्यक्ष रुद्र गिरीले बताउनुभयो । हलेसीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ हलेसी विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति, होटल व्यवसायी सङ्घ हलेसी, बजार व्यवस्थापन समिति, वडा कार्यालय महादेवस्थान र नेपाल दशनामी समाज खोटाङको संयुक्त आयोजनामा बृहत दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रथम महिला शङ्कराचार्य हेमानन्द गिरीले हलेसी धार्मिक आस्थाको अलौकिक थलो भएको बताउनुभएको छ । “मैले १३ वर्षको उमेरमा पहिलो पटक हलेसी दर्शन गरेकी थिएँ । त्यो बेला मलाई बर थाप्नेक्रममा दूध हातमा परेको थियो । हलेसीकै बरदानस्वरुप अहिले म प्रथम महिला शङ्कराचार्य बनेकी हुँ”, उहाँले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसीको प्रचारप्रसार र प्रवद्र्धन गर्न ३५ वर्षपछि पुनः हलेसी आएकी छु । मेरो क्षेत्रबाट देश तथा विदेशमा हुने हरेक कार्यक्रममा हलेसीको प्रचारप्रसार र प्रवद्र्धनको काम गर्नेछ ।”

कार्यक्रममा विश्व हिन्दु महासङ्घका अध्यक्ष एवम् भारतका पूर्व शिक्षामन्त्री अजय सिंले हलेसीको प्रवद्र्धनका लागि आफ्नो अफिसियल पेजमा हलेसीको बारेमा जानकारी राख्ने बताउनुभएको छ । “हाम्रो विश्व हिन्दु महासङ्घ ४५ देशमा विस्तार भएको छ । हरेक देशमा हुने कार्यक्रममा हलेसीको प्रवद्र्धनका काम गर्छु”, उहाँले भन्नुभयो, “हलेसीको प्रवद्र्धनकै लागि विश्व हिन्दु महासङ्घको एउटा बैठक हलेसीमा राख्ने योजना बनाएका छौँ । यसले थप प्रवद्र्धनमा सहयोग पुग्नेछ ।”

कार्यक्रममा सहभागी शङ्कराचार्यको टोलीलाई विभिन्न सङ्घ संस्था तथा व्यक्तिले स्वागत गरेका थिए । हलेसी मन्दिरको प्राङ्गणमा आयोजित दीप प्रज्वलन कार्यक्रममा तीनवटै धर्मावलम्बीका साँस्कृतिक अभियान्ता तथा कलाकारहरुले आ–आफ्नो जातजातिको साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए ।

नेपालको प्रथम महिला शङ्कराचार्यको उपस्थितिमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रमले हलेसीको प्रवद्र्धनमा थप टेवा पुगेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । “पछिल्लो समय हलेसी दर्शन गर्न विभिन्न देशका उच्च ओहदाका मानिसहरु आउन थाल्नुभएको छ । यसले हलेसीको प्रचारप्रसार र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “नेपालकी प्रथम महिला शङ्कराचार्यले आफै उपस्थित भएर हलेसीको महिमागानले हामी उत्साहित भएका छौँ ।”

विश्व शान्तिको कामना गर्दै हलेसीमा पहिलोपटक विश्व हिन्दु महासङ्घले दीप प्रज्वलन गरेको वडा नं. ७ महादेविस्थानका वडाध्यक्ष एवम् हलेसी तुवातुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा नेपालस्थित राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीका उच्च ओहदाका व्यक्तिहरु दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् ।

त्रिधार्मिकस्ल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले आफूले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

तपाईको प्रतिक्रिया