आगजनीका घटना हुनबाट जोगाउने तीन प्रहरी अभिनन्दित

Halesi Khabar
0 Shares

खोटाङ, १ जेठ । किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीनजना प्रहरीलाई अभिनन्दन गरिएको छ । वैशाख–३१ गते राति १ः४० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरास्थित महेश बजिमयको पसलमा अपरिचित व्यक्तिले आगो लगाएको देखेर खबर गरी तत्काल निभाउन सहयोग गरेकामा प्रहरी जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी हवल्दार प्रकाश तामाङ, प्रहरी जवान दुर्गाप्रसाद निरौला र लीलाबहादुर थापालाई ज्येष्ठ नागरिक सङ्घ खोटाङले सोमबार अभिनन्दन गरेको हो ।

आपराधिक मानसिकता भएका व्यक्तिले बजिमयको पसलमा अचानक आगो लगाएको देखेपछि सूचना दिएर अरबौँका धनजन तथा पशुपन्छी जोगाउन सफल भएकाले उनीहरुको योगदानको उच्च कदरका साथै सम्मानस्वरुप अभिनन्दन गरिएको सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । “प्रहरीले नदेखेको भए दिक्तेल बजारका दर्जनौँ घर तथा पसल आगलागीबाट ध्वस्त हुने थियो”, उहाँले भन्नुभयो, “गस्तीमा रहेका प्रहरी जवानहरुले बेलैमा देखेर सूचना दिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको छ । आगलागीका घटनाबाट जोगाउन ठूलो योगदान दिएकाले उनीहरु तीनै जनालाई हौसला तथा सम्मानका लागि अभिनन्दन गरिएको हो ।”

जिल्ला प्रहरी कार्यालय खोटाङबाट दिक्तेल बजारको सुरक्षाका लागि रात्रि गस्तीमा खटाइएका तीनजना प्रहरी जवानलाई बजिमयकै पसल अगाडि ल्याएर अभिनन्दन गरिएको छ । घटना देखेर बेलैमा खबर गरेका कारण प्रहरी जवानलाई प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले जनही नगद रु पाँच÷पाँच हजार र बजिमयले जनही नगद रु चार÷चार हजारका दरले पुरस्कार प्रदान गर्नुभएको छ ।

प्रहरी जवानलाई प्रदेशसभा सदस्य पिके, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अभिनन्दन गर्नुभएको थियोे । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य पिकेले जेष्ठ नागरिक सङ्घको यो कार्यक्रम प्रशंसनीय रहेको प्रतिक्रिया दिनुभएको छ ।

आगजनी गर्न प्रयास गर्ने आपराधिक व्यक्तिहरुको जोखिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । रातको समयमा भएको घटना भएकाले आपराधिक व्यक्तिहरुको पहिचान गर्न समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारका अधिकांश घरहरु पूरानो तथा परम्परागत रहेका छन् । एकआपसमा जोडेर बनाइएका घरहरु भएकाले एउटा घरमा लागेको आगो सबैमा सल्कने अवस्था रहेको छ ।

यसअघि दिक्तेल बजारको रत्नपार्क र अस्पताल चोकमा भएको आगलागीबाट दर्जनौँ घर तथा पसलहरु जलेर नष्ट भएका थिए । साँघुरो बाटो (सडक) तथा ढुङ्गा÷माटोले बनेका घरहरु भएकाले दिक्तेल बजार आगलागीको उच्च जोखिममा रहेको छ ।

तपाईको प्रतिक्रिया