खोटाङ, २ जेठ । यही जेठ–५ गतेबाट खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि दुबै खोपको मात्रा लगाइ छ महिना कटेकाहरुलाई फाइजर वायोन्टिक वायोभ्यालेण्ट नामक खोप बुस्टरका रुपमा लगाइदिने निर्णय गरेको हो ।
जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकागरी २५० खोप केन्द्रमार्फत जेठ–५ गतेदेखि ७ गतेसम्म जिल्लाका १४ हजार ३४० जनालाई बुस्टर डोज खोप लगाइउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो । यसअघि बुस्टर डोज खोप लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने कार्यालयले जनाएको छ ।
गत चैत–२४ गतेबाट वैशाख–१९ गतेसम्म जिल्लाका छ हजार जनालाई यही खोप बुस्टरका रुपमा दिइएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार दुई लाख छ हजार ३१२ जना जनसङ्ख्या रहेको खोटाङमा एक लाख सात हजार ४२ जनाले यसअघि नै पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको प्रमुख सिक्देलले जानकारी दिनुभएको छ ।
महामारीको समयमा जिल्लामा स्थापना गरिएका अधिकांश कोभिड अस्पताल भने बन्द भएका छन् । हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी र साकेला गाउँपालिकामा यसअघि स्थापना गरिएको कोभिड अस्पताललाई सामान्य (अन्य अस्पताल सरह) परिवर्तन गरेर नियमित बिरामी उपचार गर्नेगरी सञ्चालन गरिएको छ ।