खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई बिहीबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सबै मात्राको खोप नगरपालिकाका १५ वटै वडाका ३८४ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएको नगर स्वास्थ्य शाखा प्रमुख मोहनकुमार राउतले बताउनुभयो । “अन्तिम खोप लगाउन छुटेका बाम्राङका तीनजना बालबालिकालाई पनि खोप लगाइएको छ । १६ महिनासम्म कुनै खोप नलगाएका खार्मीमा एकजना बच्चा भेटिएका थिए । ती बच्चालाई समेत पूरा खोप लगाएपछि राष्ट्रिय कार्यक्रम अनुसार यस नगरपालिकाललाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसमेत प्रदान गरेको छ ।”
आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएका सबै वडाका स्वास्थ्यकर्मी र नगरपालिकाका दुईजना महिला स्वास्थ्य स्वयम्सेविकालाई समेत प्रशंसापत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रमका वक्ताहरुले सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेकाले पूर्णरुपमा उपभोग गरेर स्वस्थ बन्न जिल्लाबासीलाई आग्रह गरेका छन् ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लालाई वि.सं. २०७४ पुस–१४ गते ३१ औँ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । वि.सं. २०७४ साल पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिँदै आएको छ ।
यो वर्ष हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै साकेला र बराहपोखरी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा पालिका गरिसकेका छन् । बाँकी रहेका सात स्थानीय तहले घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो ।