सन्तोष पौडेल
खोटाङ, ५ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँसभाको बाह्रौँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईको अध्यक्षतामा बिहीबार बाह्रौँ गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभाबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, जनताको सार्वभौम अधिकार प्राप्ति र समतामूलक समाजको निर्माण खातिर भएका विभिन्न सङ्घर्ष तथा आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने वीर सहीदहरुप्रति सम्मानसहित श्रद्धा सुमन अर्पण गर्ने प्रस्ताव पारित गरिएको गाउँपालिकाका सूचना अधिकारी पियस्पी चाम्लिङ राईले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईबाट पेश भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (स्थानीयस्तरको संस्थागत क्षमता आत्ममूल्याङ्कनका विभिन्न दशवटा विषयक्षेत्रका १०० वटा सूचकहरुको स्वमूल्याङ्कन गर्दा प्राप्त भएको गाउँपालिकाको आ. व. २०७८÷७९ को कूल अङ्क ८३.५% र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनका पाँचवटा विषय क्षेत्रका १०० वटा सूचकहरुको लेखाजोखा गर्दा प्राप्त भएको गाउँपालिकाको समग्र अङ्क ५९% लाई अनुमोदन प्रस्ताव पारित भएको बताइएको छ ।
गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको अन्तिम प्रतिवेदनसमेत पारित भएको जनाइएको छ । यस्तै, गाउँपालिकाको भौतिक तथा जिन्सी सामग्रीहरुको विवरणको प्रतिवेदन पारित गर्ने निर्णय गरिएको हो ।
प्रशासन, गाउँपालिकाका अन्तरगत रहने विभिन्न समितिहरु गठन गर्ने प्रस्ताव अनुमोदन गर्नका लागि योजना तथा अनुगमन शाखा प्रमुख तथा गाउँसभा सचिवालयका कर्मचारी अधिकृत छैटौँ एवम् सूचना अधिकारी चाम्लिङ राईले पेश गर्नुभएको थियो । चालू आर्थिक वर्ष २०७९÷८० को संशोधन बजेट गाउँपालिकाका उपप्रमुख अरुणा थापामगरले पेश गर्नुभएको थियो ।
गाउँसभाको अधिवेशनको बैठकमा कार्यसूचि बमोजिम पेश भएका प्रतिवेदनहरु, संशोधित बजेट तथा अन्य सार्वजनिक सरोकारका विषयमा गाउँसभा सदस्यहरुबाट राय सुझाव तथा विभिन्न प्रश्नहरु राख्ने कार्य भएको थियो । वडाध्यक्ष तथा कार्यपालिका सदस्य राख्नुभएको राय, सुझाव तथा प्रश्नहरु गाउँपालिका प्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सचिव राई, जिन्सी शाखा प्रमुख ओमसरा राई, कृषि शाखा प्रमुख एल्बी मगर लगायतले जवाफ पेश गर्नुभएको थियो ।
छलफलमा उठेका विभिन्न विषयहरुमाथि प्रस्ट्याउनुहुँदै गाउँपालिका प्रमुख राईले आफ्ना भनाइसहित बाह्रौँ अधिवेशन समापन गर्नुभएको थियो । कार्यक्रममा गाउँसभा सदस्य पदम कुमारी नेपालीको असामयिक निधन प्रति शोक व्यक्त गर्ने प्रस्तावसमेत पारित गरिएको सूचना अधिकारी चाम्लिङले जानकारी दिनुभयो ।