खोटाङ, ७ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुभद्रा–मदन (शुभम्) फाउण्डेसनका छात्रामाथि यौन दुव्र्यवहार भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै वडा नं.–२ सोल्मास्थित शुभम् फाउण्डेसनका संरक्षक एवम् कृषिविज्ञ मदन राई र फाउण्डेसनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईविरुद्ध श्रृङ्खलावद्ध समाचार प्रकाशन हुन थालेपछि नगरपालिकाले सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
केही समय यता नियमित रुपमा सम्प्रेषण भएका समाचारको सत्यतथ्य पत्ता लगाइ नगरपालिकामा प्रतिबेदन पेश गर्नेगरी वडा नं. १२ जालपाका वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक दानबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको नगर प्रवक्ता दिनेश घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । शुभम् फाउण्डेसन घटना प्रकरणको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पूर्वाग्रही रुपमा नभइ जिम्मेवारीका साथ प्रस्तुत हुन नगरपालिकाले विज्ञप्तिमार्फत आव्हान गरेको छ ।
“विद्यालयको वैकल्पिक र व्यवहारिक शिक्षाको अभियान उल्लेखनीय र अनुकरणीय रहेको सर्वविदितै छ । देशभरी नमूना विद्यालयको रुपमा सञ्चालित यस्तो प्रकारको विद्यालय नगरपालिकाको समेत गौरवको विषय हो”, विज्ञप्तिमा भनिएको छ, “विद्यालयसँग जोडिएका घटनाक्रमको श्रृङ्खलावद्ध प्रकाशन र प्रशारणसँग विद्यालय एवम् विद्यार्थीको भविष्यसमेत जोडिने भएकाले प्रकाशन, प्रशारण र सामाजिक सञ्जालमा पोष्ट गर्दा पूर्वाग्रही रुपमा प्रस्तुत नभइ जिम्मेवारीपूर्वक आफ्नो धारणा सार्वजनिक गर्न अनुरोध छ ।”
संरक्षक मदनले आफूमाथि विभिन्न समयमा यौन दुव्र्यवहार गरेको भन्दै एक छात्राले गत वैशाख–२९ गते प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई फाउण्डेसनबाटै पक्राउ गरेको थियो । हिरासतमा रहेका मदनबिरुद्ध जिल्ला अदालत खोटाङबाट पुनः हप्ता दिनको म्याद थप गरेर बारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभएको छ ।
यसैबीच, फाउण्डेसनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईमाथि यौन दुव्र्यवहारको आरोप लगाइएकोप्रति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा वडा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जेठ–५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाउँदै वडा कार्यालयले प्रबन्ध निर्देशक राईको चरित्र हत्या गर्ने र सिङ्गो संस्थालाई बदनाम गराउने उद्देश्यले कपोलकल्पित रुपमा समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
जीवन उपयोगी शिक्षा दिने उद्देश्यले शिक्षाकै आफ्नो जीवन समर्पित गर्ने व्यक्तिलाई नियोजित रुपमा हतोत्साहित गराउने तथा समाज रुपान्तरणका लागि अतुलनीय योगदान पु¥याइरहेका पवित्र संस्थालाई खारेज गराउने गलत नियतका साथ श्रृङ्खलावद्ध समाचार प्रकाशित भएको वडाध्यक्ष ध्रुबविक्रम राईले विज्ञप्तिमार्फत जनाउनुभएको छ । फाउण्डेसनविरुद्ध परिचालित रुपमा लागेका पक्षलाई छानबिनको दायरामा ल्याउन प्रजिअ समक्ष माग गरिएको जनाइएको छ ।
यौन दुव्र्यवहार गरेको समाचार प्रकाशनपछि फाउण्डेसनका सरक्षक मदन प्रहरी हिरासतमा रहेका छन् । संरक्षक मदन प्रहरी हिरासतमा रहेकैबेला पुनः प्रबन्ध निर्देशक राईविरुद्ध चरित्र हत्या गर्ने र सिङ्गो फाउण्डेसनलाई बदनाम गराउने उद्देश्यले जेठ–३ गते समाचार प्रकाशन भएको भन्दै वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएको हो ।