सुँगुरलाई चारो लिन ट्याक्टर चढेका प्रधानाध्यापकको पाङ्ग्राले किचेर मृत्यु

Halesi Khabar
0 Shares

खोटाङ, ८ जेठ । ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचिएर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ । विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कनेक्रममा बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाटतर्फ जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टर चढेका प्रधानाध्यापक राईको रुपसे भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रधानाध्यापक राई विद्यालय बिदा भएपछि सुँगुरको चारो लिन सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए । कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रधानाध्यापक राईको पछाडिको पाङ्ग्राले टाउकोमा किच्दा घटनास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो ।

कुर्लेघाटको झोलुङ्गे पुल तरेर उदयपुरको भालुखोला दोभानबाट सुँगुरलाई चारो किनेर ल्याएका प्रधानाध्यापक राई चालकछेउमा बसेका थिए । विद्यालयभन्दा केहीमाथि रहेको घर निस्कनेक्रममा प्रधानाध्यापक राई आफन्तको घरमा गफगाफ गरिरहेकोबेला बालुवा लिन गएको ट्याक्टर झरेपछि चारो दिन कुर्लेघाटतर्फ झरेका थिए ।

मृतक प्रधानाध्यापकको शव परीक्षणका लागि आज (सोमबार) जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला आफन्तले बताएका छन् । दुर्घटनामा प्रधानाध्यापक राईको मृत्यु भएपछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

ट्याक्टर दुर्घटनामा प्रधानाध्यापक राईको निधन भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । ट्याक्टर दुर्घटनामा प्रधानाध्यापक राईको असामयिक निधनमा शोक वक्तव्य जारी गरेर पठनपाठनलाई निरन्ता दिने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया