हावाहुरीले विद्यालयको छाना उडाउँदा लाखौँको क्षति : पठनपाठनसमेत अवरुद्ध

Halesi Khabar
0 Shares

खोटाङ, १२ जेठ । वर्षासँगै आएको हावाहुरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा–८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरुपमा उडाएको हो ।

हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा–४ र कक्षा–५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताउनुभयो । “दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ”, उहाँले भन्नुभयो, “हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पु¥याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।”

वि.सं. २०२३ जेठ–२ गते स्थापना भएको सो विद्यालयमा गत वर्षको वैशाख–६ गते आएको हावाहुरीले पनि क्षति पु¥याएको थियो । यस वर्ष (बिहीबार)को हावाहुरीले पु¥याएको क्षतिको विवरण सङ्कलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न गाउँपालिकाको कार्यालय र प्रहरी चौकी बतासेको टोली घटनास्थलमा बोलाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभएको छ ।

हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि १५० जना विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्यौल बनेको छ । हावाहुरीले क्षति पु¥याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताउनुभयो ।

वर्षेनी हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनैबेला मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना रहेको अभिभावकहरुले बताएका छन् । बाह्रै महिना हावाहुरी चलिरहने डाँडामा सञ्चालित विद्यालय नजिकै ठूलो पिपलको रुखसमेत रहेकाले दुर्घटनाको जोखिम बढेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गएराति चलेको हावाहुरीले अन्य ठाउँमा समेत क्षति गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । जिल्लामा भएको हावाहुरीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हावाहुरीले फलफूल, पाक्न लागेको गहुँ, तरकारीबाली लगायतमा क्षति गरेको किसानहरुले बताएका छन् । व्यवसायिक तरकारी खेती गर्ने किसानको टनेल लगायतका संरचनामासमेत हावाहुरीले क्षति गरेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया