दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

Halesi Khabar
0 Shares

खोटाङ, १३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरेको हो ।

श्रमदान अभियान अन्तरगत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जसरी भएपनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडकहरु वर्षा शुरु हुने बित्तिकै अवरुद्ध हुने गरेका छन् । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्नेगरी श्रमदान अभियान थालिएको हो । अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ ।”

नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रा.लि. खोटाङ, ट्याक्टर तथा ट्रिफर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको छ । ट्याक्टर तथा ट्रिफर व्यवसायी सङ्घमा आवद्ध एकजना व्यवसायीले कम्तिमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध गराउनेगरी अभियानमा सहभागी भएका छन् ।

श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको छ । श्रमदान अभियानमा नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवबिक्रम राई, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।

 

जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्ने लगायतका काम गरिएको छ । पहिलो दिनको श्रमदानमा चारवटा ट्याक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नं. २ सोल्माका वडाध्यक्ष राईले बताउनुभयो ।

श्रमदान अभियान अन्तरगत दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुङ्गाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । नगरपालिकाको जेसीबी र व्यवसायीको ट्याक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन् ।

नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्याक्टर व्यवसायीहरु स्वस्फूर्तरुपमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रा.लि.का सञ्चालक भलकाजी पुरीले बताउनुभयो । “जिल्लामा १३० वटा ट्याक्टर सञ्चालनमा रहेका छन् । नगरभित्रमात्रै ८०÷८५ वटा ट्याक्टर नियमितरुपमा सञ्चालनमा रहेका छन् । नगरभित्रका व्यवसायीको सबै ट्याक्टरलाई कम्तिमा एक दिन श्रमदान गर्न अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो, “दिउँदमा हिलो र वर्षामा हिलोको कारण नगरपालिकाभित्रका सबै ग्रामीण सडकमा सहजरुपमा ट्याक्टरसमेत सञ्चालन हुने अवस्था छैन । नगरपालिकाले थालेको श्रमदान अभियानले ट्याक्टर व्यवसायीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पस लगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुसमेत सहभागी हुने भएका छन् । जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।

सानातिना विकासे योजनाका लागि समेत सरकारको मुख ताक्ने सँस्कृतिको विकास भइरहेको अवस्थामा नगरपालिकाले श्रमदान अभियान शुरु गरेर राम्रो सन्देश दिएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताउनुभयो । “हाम्रो समाजमा आफूले गरेको फोहरसमेत अरुले नै गरिदिनुपर्ने सँस्कारको विकास हुँदै गएको छ । यो राम्रो होइन”, उहाँले भन्नुभयो, “नगरपालिकाले शुरु गरेको श्रमदान अभियानले आफ्नो लागि आफै गर्न सक्छौँ भन्ने सन्देश दिएको छ । यो अभियान कसैको लागि लक्षित गरेर लागू गर्नुभएन । एकजना व्यक्तिको फाइदाको लागि गर्नुभएन । सार्वजनिक सरोकारका विषयलाई समेट्न सक्नुपर्छ । त्यसो गरेको खण्डमा अभियान सफल हुन्छ ।”

नगरपालिकाले थालेको श्रमदान अभियानलाई आफूहरुको कार्यकालभरी निरन्तरता दिने योजना बनाइएको नगर प्रमुख भट्टराईले बताउनुभएको छ । “पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ग्रामीण सडकहरु मर्मत गर्ने कामबाट शुरु गरिएको श्रमदान अभियान हाम्रो कार्यकालभरी जारी राख्ने छौँ । श्रमदान अभियान अन्तरगत नगरपालिकाभित्रका सडक, सार्वजनिकस्थलहरुको मर्मत तथा सरसफाइ लगायतका क्रियाकलाप गरिनेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाले शुरु गरेको श्रमदान अभियानले नागरिकमा श्रम सँस्कृतिको विकास पनि हुने अपेक्षा गरिएको छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थालेको श्रमदान अभियानलाई जिल्लामा निक्कै महत्वका साथ हेरिएको छ । श्रमदान अभियान शुरु भएको पहिलो दिनमै सामाजिक सञ्जाल फेसबुकमा तस्विर राखेर शुभकामना दिनेको ओइरो लागेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सबै सकारकारी कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मध्यपहाडी लोकमार्ग बाहेक अन्य ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् । दिउँदमा हिलो र वर्षामा हिलोको कारण करिब छ महिनामात्र सञ्चालन हुँदै आएको सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्नेगरी नगरपालिकाले श्रमदान अभियान थालेको हो ।

तपाईको प्रतिक्रिया