साठी घरधुरी किसानलाई २५ हजार कफीका बिरुवा

Halesi Khabar
0 Shares

खोटाङ, १४ जेठ । हिमाली कफी उत्पादक कृषक समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाले ६० घरधुरी किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गरेको छ । कृषक समूहले उत्पादन गरेको २५ हजार कफीका बिरुवा बुइपास्थित छिप्तिका किसानलाई आइतबार निःशुल्क वितरण गरिएको हो ।

कृषक समूहले उत्पादन गरेको अरेबिका जातको कफीको बिरुवा नगर उपप्रमुख विशन राई र बुइपाका वडाध्यक्ष दिनेश राईले किसानलाई हस्तानतरण गर्नुभएको छ । काभ्रेबाट रु २० हजारमा खरिद गरेर ल्याएको कफीको बीउबाट उत्पादन गरिएको बिरुवा किसानलाई निःशुल्क वितरण गरिएको समूहका अध्यक्ष सुमन राईले बताउनुभयो ।

किसानको माग अनुसार २०० देखि ५०० सम्म निःशुल्क बिरुवा वितरण गरिएको समूहले जनाएको छ । किसानलाई बाँझो जग्गामा कफीका बिरुवा लगाउन उत्प्रेरित गर्ने र कफीमा आत्मनिर्भर बनाउँदै व्यवसायिक रुपमा अगाडि बढाउन निःशुल्क बिरुवा वितरण गरिएको समूहका अध्यक्ष राईले जानकारी दिनुभयो ।

बुइपामा उत्पादित कफीका बिरुवाको माग अत्यधिक रहेकाले अर्को वर्ष थप विस्तार गर्ने तयारी थालिएको समूहले जनाएको छ । वर्ष दिन अघिबाट स्थापना भएको सो कृषक समूहले बिरुवा उत्पादनलाई अझ बृहत बनाउन वडा–३ बाम्राङ र वडा–१५ विजयखर्कका किसानहरुसँग सहकार्य गरिरहेको बताइएको छ ।

कफीलाई व्यवसायीकरण गर्दै कफी खेतीबाटै जीविकोपार्जन गराउन नगरपालिकाले नीति तथा कार्यक्रम बनाएको नगर उपप्रमुख राईले बताउनुभयो । “नगरपालिकाले कृषि खेतीलाई पहिलो प्राथमिकतमा राखेर काम गरिरहेको छ । किसानले कफी खेतीलाई व्यावसायीकरण गर्दा नगरको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “किसानले बिरुवा रोपेर मात्र हुँदैन यसलाई समय–समयमा रेखदेख गरी हुर्काउने र कफीलाई संरक्षणमा ध्यान दिनुपर्दछ । किसानले उत्पादन गरेका कफी प्रशोधन एवम् भण्डारणका लागि नगरपालिकाले सहयोग गर्नेछ ।”

कफी खेती जिल्लाका दशवटै स्थानीय तहमा विस्तार भइरहेको छ । अरेबिका जातको कफी समुन्द्री सतहदेखि करिब ८०० मिटर उचाइमा विषादि प्रयोगबिना नै कफी उत्पादन हुने कृषिविज्ञहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया