नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई उन्मुक्ति नदिन प्रधानमन्त्रीलाई ज्ञापन

Halesi Khabar
0 Shares

खोटाङ, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कानूनको घेराभित्र ल्याएर कडाभन्दा कडा कानूनी सजाय दिन प्रधानमन्त्री समक्ष माग गरेको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङले मङ्गलबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै आम जनताका मनमनमा कतै यो मुद्धालाई कमजोर पार्ने काम त भइरहेको छैन भन्ने आशंका जन्मिएको भन्दै ढाकछोप गर्ने षडयन्त्र नगर्न ध्यानाकर्षण गराएको हो ।

बिगतका धेरै भ्रष्टाचारका मुद्धालाई बीचैमा सामसुम पारिएकाले यो घटना पनि त्यस्तै नपार्न ध्यानाकार्षण गराइएको नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलशेर राईले बताउनुभएको छ । भ्रष्टाचारमा संलग्न व्यक्तिहरु जतिसुकै शक्तिशाली भए पनि ‘कारबाहीमा पर्छन्’ भन्ने देखिएमात्रै निराश जनतामा नयाँ आशा र बिश्वास पलाउने नेकपा (एकीकृत समाजवादी) खोटाङले जनाएको छ ।

“कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिएर जनताको भावनामाथि खेलबाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात हुनेछ भनि हामी सरकारलाई सचेत गराउन चाहन्छौँ । नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढतापुर्वक अनुसन्धानलाई अगाढि बढाउन् तथा अपराधीमाथि मुद्धा दायर गर्ने निकायले मुद्धालाई कमजोर बनाउने काम नगरुन् भन्ने आग्रह छ”, ज्ञापनपत्रमा भनिएको छ, “मुद्धा कमजोर बनाइ सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगरियोस् । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधको सम्पूर्ण सञ्जाललाई कानूनको घेराभित्र ल्याइ कडाभन्दा कडा कानूनी सजाय गर्न माग गर्दछौँ ।”

देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाइ बिक्री गर्नु मानव बेचबिखनको कार्यमात्र होइन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको जिल्ला अध्यक्ष राईले बताउनुभयो । “नक्कली भुटानी शरणार्थी प्रकरणलाई आधार बनाएर संसदभित्रैबाट संविधानविरुद्ध समेत बोल्ने काम गरिएको छ”, उहाँले भन्नुभयो, “यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोबल खसाल्ने प्रयास गरिएको छ ।”

नक्कली भुटानी शरणार्थी बनाएर बिक्री गर्ने कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गम्भीर क्षति भएको ज्ञापनपत्रमा भनिएको छ । नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय राजनीतिक दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विभिन्न षडयन्त्र गर्ने काम गरिरहेको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

तपाईको प्रतिक्रिया