खोटाङ, १८ जेठ । विद्युत मर्मत गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घर नजिकै काँडे भन्ने ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबल लगाउनेक्रममा आज (बिहीबार) पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि रु दुई लाख ४० हजारमा चार्टर गरिएको हेलिकोप्टरमार्फत गरेर काठमाडौँ लगिएको हो ।
विद्युतको पोलबाट लडेर घाइते बनेका दाहाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको विद्युत प्राविधकरण दिक्तेल वितरण केन्द्रका कार्यालयका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । विद्युत प्राधिकरणमा दैनिक ज्यालादारी कर्मतारीको रुपमा काम गर्दै आउनुभएका गम्भीर घाइते दाहालको अहिले काठमाडाँैस्थित शिक्षण अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको उहाँका पारिवारले जनाएको छ ।
दुर्घटनास्थलमै बेहोस अवस्थामा रहेका बेला उद्धार गरिएका दाहालको बाहिरी शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । बिहान करिब नौँ बजे विद्युतको पोलबाट लडेर झर्नुभएका दाहाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिए पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि काठमाडौँ पठाइएको हो ।
करिब १२ वर्षदेखि विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आउनुभएका दाहालको अवस्था चिन्ताजनक रहेका समाचार स्रोतले जनाएको छ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा ज्यालादारी काम गरेर परिवारको गर्जो टार्दै आउनुभएका दाहालको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले वि.सं. २०५७ सालमा उद्घाटन गर्नुभएको केन्द्रीय प्रशारण लाईनको विद्युतको अधिकांश विद्युतीय संरचनाहरु अहिलेसम्म स्तरोन्नति गरिएको छैन । कमजोर अर्थात पुरानो संरचना भएकै कारण जिल्लामा पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत लाईन मर्मत गर्नेक्रममा आधा दर्जन बढी प्राविधिकको ज्यान गइसकेको छ ।
स्थापना कालकै पुरानो संरचनामा ३३ केभी प्रशारण लाइन क्षमताको विद्युत सञ्चालन गरिएको जिल्लामा मर्मत गर्नेक्रममा दर्जन बढी प्राविधिक अङ्गभङ्ग भएर बसेका छन् । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको ३३ केभी प्रशारण लाइनको विद्युत खोटाङसँगै सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा समेत विस्तार गरिएको छ ।
लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटक–पटक विद्युत अवरुद्ध हुँदा हजारौं सेवाग्राही हैरानीमा पर्ने गरेका छन् । तीन जिल्लाका लागि विस्तार गरिएको केन्द्रीय प्रशारण लाईनको विद्युतको संरचना स्तरोन्नति नरेसम्म लामो समयदेखि उपभोक्ताले भोग्दै आएका समस्या रहिरहने देखिएको छ ।