खोटाङ, १८ जेठ । साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तामा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम वि.सं. २०७४ कातिक–२० भित्र सक्ने गरी युएस–नाना जेभीले वि.सं. २०७२ कातिक–२० गते सम्झौता गरेको थियो । तर, छ पटकसम्म म्याद थप गरे पनि उक्त स्वास्थ्य चौकी भवन निर्माणको काम अहिलेसम्म सम्पन्न भएको छैन ।
करिब रु दुई करोड १६ लाख ५९ हजार ६७० लागतमा सम्झौता गरिएको स्वास्थ्य चौकी भवनका लागि पहिलो पटक वि.सं. २०७५ वैशाख–२१ गते, दोस्रो पटक वि.सं. २०७५ माघ–२९ गते, तेस्रो पटक वि.सं. २०७७ असार–३१ गते, चौथो पटक वि.सं. २०७७ पुस, पाँचौँ पटक वि.सं. २०७८ चैत–३० गते र छैटौँ पटक वि.सं. २०७९ पुससम्मका लागि म्याद थपिएको थियो । पछिल्लो पटक थपिएको म्यादभित्र कुनै काम नभएपछि अहिले उक्त निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र अवस्थामा छ ।
निर्माणाधीन स्वास्थ्य चौकी भवनको सम्पन्न भएको कामसमेत गुणस्तरहीन रहेको वडाअध्यक्ष जीवन न्यौपानेले बताउनुभयो । “भवनको भित्री भागको धेरै काम बाँकी नै छन् । झ्यालको सिसा, भित्री भागको रङ्गरोगन, सौचालय तथा स्नान गृहमा धाराहरू, बर्थिङ सेन्टरको बेसिन, टायल बिछ्याउने लगायतका काम बाँकी छन्”, उहाँले भन्नुभयो, “निर्माणाधीन स्वास्थ्य चौकी भवनको रिटेनिङवाल, ग्याबिनवाल लगायतका काम पनि भएको छैन । निर्माणको काम सकिएको ठाउँमा पनि गुणस्तरहीन भएको छ ।”
निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्य चौकी भवनको सिलिङबाट पानीसमेत चुहिने भएकाले समस्या देखा परेको वडाध्यक्ष न्यौपानेले बताउनुभएको छ । निर्माणाधीन स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएको बारेमा निर्माण कम्पनीलाई जानकारी गराउँदा मर्मत गर्ने बताए पनि अहिलेसम्म काम नभएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
निर्माण कम्पनीको लापरबाहीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समेत समस्या आएको जनाइएको छ । स्वास्थ्य चौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तिकरण समूहको भवनबाट दिइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्दोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । ठेकेदारबीको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण अघि नबढेको पाइएको छ ।
पछिल्लो पटक थपिएको म्याद सकिएको छ महिनापछि ठेकेदार आएर अहिले सुस्तगतिमा निर्माणको काम शुरु गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । गुणस्तरहीन भएको ठाउँहरु भत्काएर काम शुरु गरेपनि सन्तोषजनक नरहेको उहाँले बताउनुभयो ।
ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय, सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा. युवराज पौडेलले बताउनुभएको छ । निर्माण सम्पन्न भएका कामसमेत सन्तोषजनक नभएकाले ठेकेदार कम्पनीलाई दिइने भुक्तानी रकमसमेत रोकेर राखिएको कार्यालयले जनाएको छ ।