नागरिकता विद्ययक फिर्ता लिन राष्ट्रपतिलाई प्रदेश सांसद पिकेको आग्रह

Halesi Khabar
0 Shares

खोटाङ, १८ जेठ । प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले नागरिकता विद्ययक फिर्ता लिन राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ । कोशी प्रदेशको हिउँदे अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालको राष्ट्रियतासँग जोडिएको नागरिकता विद्ययक तत्काल फिर्ता लिन राष्ट्रपछि रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको हो ।

“निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राख्नुभएको नागरिकता विद्ययक वर्तमान राष्ट्रपति ज्यूले प्रमाणीकरण त गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “नेपाली जनताले रोकेको नागरिकता विद्ययक फिर्ता प्रमाणीकरण गरेर राष्ट्रियतामाथि असर पु¥याउनुभएको छ । प्रमाणीकरण भएको विद्ययक तत्काल फिर्ता लिन राष्ट्रपति ज्यूलाई म यसै सदनबाट हार्दिक अपिल गर्न चाहन्छु ।”

नेकपा (एमाले) प्रदेश समिति सदस्यसमेत रहनुभएका पिकेले राष्ट्रघात हुने कुनै पनि किसिमको सम्झौता नगर्न भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्नुभएको छ । “भारतीय नक्सामा नेपालको कपिलवस्तु र लुम्बीनी समेटिएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले रोक्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको ऐतिहासिक एवम् साँस्कृतिक भूमि समेटिएको नक्सा तत्काल रोक्न प्रधानमन्त्रीलाई म यसै सदनमार्फत आग्रह गर्छु । अपिल गर्छु ।”

सम्बोधनका क्रममा सांसद पिकेले आफूहरु निर्वाचित भएर आएपछि पाँच वर्षसम्म नामविहीन प्रदेशलाई सर्वसहमत कोशी नामाकरण गरेको दाबी गर्नुभएको छ । “सामान्य विवाद आउनु स्वभाविक हो । प्रदेशका मुख्यमन्त्रीलाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री ज्यूले आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गर्नुभएको छ । आन्दोलनरत पक्षले पनि शान्तिपूर्ण आन्दोलन गर्नुप¥यो । सामाजिक सद्भाव भड्निे किसिमको आन्दोलन गर्नुभएन ।”

पहिचान पक्षधरहरुले जिल्लामा आफूमाथि अभद्र व्यवहार गरेकोप्रति दुखेसो व्यक्त गर्नुभयो । “म मुन्धुम सँस्कृतिमा हुर्किएको मान्छे हुँ । मलाई दुव्र्यवहार गर्ने मान्छेहरुको पनि सांसद हुँ । मलाई भोट नदिने जनताको पनि सांसद हुँ”, उहाँले भन्नुभयो, “म देशमा रहेका सबै जातजातिको पहिचानको लागि भनेर भोट मागेको हुँ । मैले बहुदलीय जनवादबाट दिक्षित भएर सूर्य चिन्हमा भोट मागेको हुँ । त्यसैले सबैलाई सम्बोधन हुनेगरी दुई तिहाईभन्दा बढी सांसदको सहमतिमा प्रदेशको नाम कोशी राखिएको हो ।”

फरक विचार राख्न संविधानले समेत छुट दिएको उल्लेख गर्नुहुँदै उहाँले आन्दोलनरत पक्षसँग वार्ता गर्न प्रदेश सरकारले तत्काल वार्ता टोली गठन गर्नुपर्ने बताउनुभएको छ । सम्बोधनका क्रममा सांसद पिकेले प्रदेशको नाम राख्नेक्रममा कोशीको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई दुईवटा डुङ्गामा खुट्टा नराख्नसमेत आग्रह गर्नुभएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया