खोटाङ, १८ जेठ । पक्की घरको तीन तलामाथिबाट खसेर साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको छ । स्कूलबाट आएर खाजा खाएपछि खेल्नेक्रममा दिक्तेलस्थित किराँत नजिकैको भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–२ मा अध्ययनरत रोशनी अपरान्ह चार बजेतिर तीन तलामाथिबाट लडेको स्थानीय बासिन्दाले बताएका छन् । पक्की घरको तीन तलामाथिबाट लडेर झरेलगत्तै उद्धार गरेर दिक्तेलस्थित फेमिली केयर अस्पताल पु¥याइएकी रोशनीको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर ज्यान गुमाएकी रोशनीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको सामुदायिक प्रहरी सेवा केन्द्र रत्नपार्कका प्रमुख प्रहरी नायब निरीक्षक गोपी कटवालले बताउनुभयो । “स्कूलबाट आएर खाजा खाएपछि साथीसँग खेल्नेक्रममा लडेर झरेको रहेछ ! गम्भीर घाइते बनेकी रोशनीको उपचार गर्दागर्दै करिब डेढ घण्टापछि मृत्यु भयो”, उहाँले भन्नुभयो, “फेमिली केयर अस्पतालले मृत घोषणा गरेपछि उनको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको छ ।”
मृतक रोशनीको शव परीक्षणपछि सर्जमिन मुचुल्का गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक रोशनी रविन गुरुङ र सिर्जना राई (गुरुङ)को कान्छी छोरी हुन् ।
बुबा रविन जिल्लामै भाडाको सुमो गाडी चलाउँदै आउनुभएको छ भने, आमा सिर्जना कोठा भाडामा लिएर छोराछोरी पढाउँदै दिक्तेलमै बस्दै आउनुभएको जनाइएको छ । प्रेम विवाह गरेका रविन र सिर्जनाको तीन सन्तान (दुई छोरी र एक छोरा) जन्मिएका थिए ।
ठूली छोरी रोमीको गत साउन–१३ गते शुक्रबार भाडाकै घरको निदाल (घरका दलिन अड्याउन राखिने काठ)मा सल (कुर्तासुरुवालसँगै ओढिने पछ्यौरी) बाँधेर पिङ खेल्नेक्रममा सोही सलमा झुन्डिएर मृत्यु भएको थियो । कोठामा बुबाआमा नभएको समयमा भाइ÷बहिनीसँग खेल्नेक्रममा रोमीको घाँटीमा पाँसो लागेर मृत्यु भएको हो ।
नौँ वर्षीया छोरी रोमीको झुन्डिएर र कान्छी रोशनीको लडेर मृत्यु भएपछि गुरुङ दम्पत्ती शोकमा डुबेका छन् । वर्ष दिन नपुग्दै दुई छोरीको एकपछि अर्को हुँदै दुर्घटनामा परी मृत्यु भएपछि उनीहरु अहिले चिन्तित बनेका छन् ।