खोटाङ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारबिरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । विकास प्रकृया, राजनीतिक प्रकृया र समाजको लोकतान्त्रिकरणको प्रकृयालाई अगाढि बढाउन भ्रष्टाचार एकदमै घातक रोगको रुपमा देखा परेको उल्लेख गर्नुहुँदै पार्टी स्कूल विभाग प्रमुखसमेत रहनुभएका पोखरेलले भ्रष्ट मानसिकता विरुद्ध भित्रबाहिर सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याउनुभयो ।
“भ्रष्टाचार बिरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्धका कदम अगाडि बढाएको छ,” उपमहासचिव पोखरेलले भन्नुभयो, “अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारबिरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताबिरुद्ध भित्रबाहिर सबैतिर सशक्त रुपमा सङ्घर्ष गर्न जरुरी छ ।”
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कूल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव पोखरेलले प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
“हामीले हाम्र्रो छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई अत्यन्तै महत्वसहित अगाडि बढाएर मात्रै हामी अगाडि बढ्न सक्छौँ”, उपमहासचिव पोखरेलले भन्नुभयो, “यो पक्षलाई हेरेर प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुभएको छ । म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु ।”
दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उहाँले बताउनुभयो । “परिवर्तन नचाहँने केही शक्तिहरु प्रधानमन्त्रीमाथि समेत फसाउने दुस्साहस गरिरहेका छन् । पार्टीले आठौँ राष्ट्रिय महाधिवेशनबाट समाजवादी क्रान्तिको कार्यदिशा अङ्गालेको छ”, उहाँले भन्नुभयो, “पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च तह, माध्यमिक तह र आधारभूत तहगरी तीन तहको पार्टी स्कूल कार्यक्रम सञ्चालन गरिएको हो ।”
पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँगसमेत सँगै जोडेर अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । “पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताहरुले आफ्नो अवधारण बनाउने गरेका छन् । फेसबुके विश्लेशनले काम दिँदैन”, उहाँले भन्नुभयो, “अहिले राष्ट्र र राष्ट्रियतामाथि विभिन्न क्षेत्रबाट हमला भइरहेको छ । यसलाई संरक्षण गर्न सबै नेता तथा कार्यकर्ता गम्भीर हुन जरुरी छ ।”
पार्टी स्कूल कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष एवम् पूर्व सांसद टंक राई, बाम विश्लेषक एवम् पूर्व सांसद हरि रोका, संविधानसभा सदस्य एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, डाक्टर धनप्रसाद सुवेदी, ध्रुव श्रेष्ठ, रमेश सुनुवार, रामदीप आचार्य लगायतले सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा पार्टीको वैचारिक, राजनीतिक र सङ्गठनात्मक कार्यदिशा, पहिचान र सङ्घीयता, संस्कृति र साँस्कृतिक रुपान्तरण, समावेशिता र समानुपातिक नीति, स्थानीय सरकार सञ्चालन ऐन, राजनीतिक अर्थशास्त्र, दर्शनशास्त्रको अवधारण र माक्र्सवादी दर्शन लगायतका बारेमा कक्षा सञ्चालन भइरहेको माओवादी केन्द्र खोटाङका जिल्ला समन्वय समिति संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको सभाहलमा जारी कार्यक्रममा पार्टीको जिल्ला समन्वय समिति, स्थानीय तहका पार्टी प्रमुख तथा प्रतिनिधि, पार्टीबाट निर्वाचित दशवटै स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम समापनपछि सहभागी नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा गएर पार्टी स्कूल कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाइएको छ ।