अनेरास्ववियुद्धारा नागरिकता विद्ययकको विरोधमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

Halesi Khabar
0 Shares

खोटाङ, १९ जेठ । संसद छलेर नागरिकता विद्ययक प्रमाणीकरण गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय) खोटाङले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसद छलेर अवैधानिक तरिकाले नागरिकता विद्ययक प्रमाणीकरण गरेको अनेरास्ववियुले शुक्रबार साँझ दिक्तेलमा राँके जुलुस प्रदर्शनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति पौडेलको पुत्ला दहन गरेका हुन् ।

नागरिकता विद्ययक खारेजीको माग गर्दै अनेरास्ववियुले पुष्पलाल स्मृति भवनदेखि दिक्तेलको त्रिवेणीचोकसम्म राँके जुलुस प्रदर्शन गरेको थियो । मसाल जुलुसले त्रिवेणीचोक पुग्नेबेला प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।

मसाल जुलुस प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । मसाल जुलुस र पुत्ला दहनपछि त्रिवेणीचोकमा भएको कोणसभालाई अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन सङ्ग्राम र राष्ट्रिय युवा सङ्घ खोटाङका अध्यक्ष रोशन चाम्लिङले सम्बोधन गरेका थिए ।

त्रिवेणीचोकमा प्रदर्शनकारी र प्रहरीबीचमा मसाल खोसाखोस चलेको थियो । यद्यपि, दुवै पक्षले संयम्ता अपनाएकाले कुनै अप्रिय घटना भने भएन ।

 

 

तपाईको प्रतिक्रिया