हलेसीको ब्राण्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराँती

Halesi Khabar
0 Shares

खोटाङ, २४ जेठ । सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवद्र्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको बताउनुभयो ।

मन्त्री किराँतीले हलेसी खोटाङ जिल्लाको मात्र नभइ पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । “हलेसीको विकासका लागि मुलुकको अन्य ठाउँहरुमा समेत प्रचारप्रसार गर्न आवश्यक छ । आगामी दिनमा नेपाल छिर्ने मुख्य नाकाहरु काँकडभिट्टा, चतरा लगायतका ठाउँहरुमा समेत प्रचारप्रसारका लागि होडिङ बोर्ड राख्नुुपर्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो, “हलेसीमा खुला साँस्कृतिक सङ्ग्राहलय निर्माण गर्न सरकारले तयारी गरेको छ । विभिन्न मुलुकबाट हलेसी आउने पाहुनाहरुलाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिनेगरी योजना निर्माण गर्नु आजको आवश्यकता हो । यसका लागि मन्त्रालयले गर्ने सहयोग गर्छ ।”

पर्यटकीय क्षेत्रहरुको अनुगमन भ्रमणका लागि बुधबार (आज) खोटाङ आउनुभएका मन्त्री किराँतीले त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि ब्राण्डिङ गनुपर्नेमा जोड दिनुभएको छ । मन्त्री किराँतीले हलेसी र किराँत समुदायको उद्गमस्थल तुवाचुङको प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा हलेसी विकास समितिका अध्यक्ष एवम् पूर्व सांसद टंक राईले त्रिधार्मिकस्थल हलेसीको विकासले खोटाङको मात्र नभइ मुलुकै आर्थिक समृद्धिमा टेवा पुग्ने मन्त्री किराँतीलाई जानकारी गराउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहनुभएका अध्यक्ष राईले हलेसी मन्दिर तथा गुफा नजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको जानकारी दिनुभएको छ ।

नगर प्रमुख विमला राईले मन्त्री किराँतीलाई स्वागत गर्नुहुँदै यस क्षेत्रको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभएको छ । उहाँले हलेसी मै बुनिएको खाँडीको कपडा चिनो स्वरुप मन्त्री किराँतीलाई प्रदान गर्नुहुँदै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी गराउनुुभएको छ ।

मन्त्री किराँतीले भोलि (बिहीबार) बिहान सात बजे जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जडान गरिएको अग्नी नियन्त्रण प्रणाली (फायर हाइड्रेन्ट गेट भल्भ)को औपचारिक उद्घाटन गर्नुहुने जनाइएको छ । नेपाल सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा सञ्चालित रम्बाखोला–माझखोला दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत दिक्तेल बजारका विभिन्न दश ठाउँमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरिएको हो ।

दिक्तेल बजारमा आगलागी भएकोबेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी विभिन्न दश ठाउँमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरिएको छ । खानेपानी आयोजनाको पाइपमा फायर हाइड्रेन्ट गेट भल्भ जडान गरेर १०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्न सकिने जनाइएको छ ।

जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका दिक्तेल बजारमा वर्षेनी आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ । हाइड्रेन्ट गेट भल्भ जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी शहरी खानेपानी आयोजनाको बजेट लगानी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया